निर्देशक भन्छन्ः ‘लम्फू’ ले पूरा मनोरञ्जन दिन्छ − Kalakarita
निर्देशक भन्छन्ः ‘लम्फू’ ले पूरा मनोरञ्जन दिन्छ

मंगलबार, वैशाख २५, २०७५, ०२ : ५०कलाकारिता

काठमाडौं, २५ वैशाख – आउँदो शुक्रवारबाट फिल्म ‘लम्फू’ रिलिज हुँदैछ । एक युवाको जीवनमा आइपर्ने विभिन्न समस्यालाई कथामा ढालेर तयार पारिएको फिल्मले राम्रै प्रचार गरेको छ ।

फिल्ममा कविर खड्काको सम्भावनालाई लिएर पनि यतिबेला सिने जगतमा चर्चा उठिरहेको छ  । यही फिल्मबाट कविरले रजतपटमा डेब्यु गर्दैछन् । त्यस्तै फिल्ममा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, आयान खड्का, कुसुम श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मलाई भूपतिले लेखेका हुन् ।

यसैबीच चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले यो चलचित्र हेर्नैपर्ने सिनेमा भएको बताएका छन् । चलचित्रमा आफ्नोपन भएको उनी बताउँछन् । ‘फिल्म पूर्णतः मनोरञ्जनमूलक छ, मौलिक कथाम बनेको छ’, उनी भन्छन्, ‘फिल्म पूर्ण मनोरञ्जनको प्याकेज बनेको छ, फिल्मको मूल उद्देश्य मनोरञ्जन दिनु नै हुन्छ ।’

निर्देशक लामिछानेले यो फिल्ममा सलोन बस्नेतको फरक भूमिका रहेको समेत बताउँछन् । सलोनका फ्यानले उनलाई नयाँ परिचयमा पाउने निर्देशक बताउँछन् । साथै उनी नव-अभिनेता कविरको पनि खुलेरै तारिफ गर्छन् । फिल्ममा अन्य कलाकारको अभिनय पनि उत्तिकै रहेको उनी दाबी गर्छन् ।

चलचित्रलाई शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्म सोसियल र कमेडी जानरामा निर्माण भएको हो ।


तपाईंको प्रतिक्रिया