मुम्बई – सन् २००५ मा रिलिज भएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान र अनिल कपूरले शीर्ष भूमिका निभाएका थिए । त्यो जमानामा बनेको फिल्मको पनि अझै चर्चा चल्ने गर्छ । फिल्मको सिक्वेल बन्ने विषयलाई लिएर नयाँ कुरा सार्वजनिक भएको छ ।
‘नो इन्ट्री’ को सिक्वेललाई लिएर फिल्ममेकर अनीस बज्मीले नयाँ कुरा खुलासा गरेका छन् । बक्स अफिसमा हिट भएको यो फिल्ममा सलमान खान नहुने उनले संकेत गरेका छन् ।
यो मल्टिस्टारर फिल्मको पहिलो पार्टमा सलमान खान र अनिल कपूर शीर्ष भूमिकामा थिए । उनका साथ विपाशा बसु, लारा दत्त, सलीना जेटली र फरदिन खान पनि थिए । फिल्म निर्माणको १४ वर्ष बितिसक्दा पनि यो फिल्मको बलिउडमा अझै चर्चा हुने गर्छ ।
केही समय पहिले नै यसको सिक्वेलका रुपमा ‘नो इन्ट्री मे इन्ट्री’ बन्ने चर्चा चलेको थियो । तर, पछि त्यो कुरा यत्तिकै सेलायो । फिल्मका निर्माता बोनी कपूरको समय नमिलेका कारण कुरा कुरामै सीमित रह्यो । अहिले भने निर्देशक अनीस बज्मी फेरि फिल्म बनाउने बारेमा सोच्दैछन् । तर, यो सिक्वेलमा सलमान खान नहुने सम्भावना बढी छ ।
फ्यानले भने सलमान बिना यो फिल्म बनाउनुको कुनै औचित्य नभएको बताएका छन् । फिल्मको सिक्वेलमा अनिल कपूर र सलमान खानको भूमिका हुनैपर्ने फ्यानले जिकिर गरेका छन् ।
तपाईंको प्रतिक्रिया