काठमाडौं, २६ जेठ – निर्माता माधव वाग्ले यतिबेला प्रहरीको हिरासतमा छन् । २ करोड ६३ लाख नक्कली नोट काण्डमा मुछिएका उनलाई प्रहरीले हिरासतमा लिएको केही हप्ता भयो । जुन फिल्मका लागि उनले नक्कली नोट छपाएका थिए, उक्त फिल्म भने भदौमा रिलिज हुने भएको छ ।
फिल्मका निर्देशक दीपेन्द्र के खनालका अनुसार यो फिल्मलाई भदौ १५ गते रिलिज हुनेछ । पोस्ट प्रोडक्सनमा रहेको यो फिल्म निर्माण हुने औपचारिक उद्घोषपछि नै चर्चामा थियो । अझ अहिले त निर्माता वाग्ले नक्कली नोट काण्डमा मुछिएपछि फिल्म दर्शकका लागि पनि चासो विषय बनेको छ ।
केही दिनमा एउटा गीत समेत सार्वजनिक गर्ने तयारीमा रहेको फिल्म युनिटमध्ये माधव वाग्ले हिरासतमा भएपछि रिलिज मितिमा फिल्म वाग्लेले हेर्न पाउलान् कि नपाउलान् भन्ने चासो बढेको छ ।
यतिबेला अनुसन्धान भइरहेको यो केशमा यदि माधव वाग्ले दोषी ठहरिए भने उनले आफ्नै फिल्म पनि हेर्न नपाउने सम्भावना भने छ ।
चलचित्रमा आयुष्मान जोशी, परमिता राना, प्रियंका कार्की, सन्दीप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै फिल्मलाई निरज कँडेलले छायांकन गरेका छन् ।
तपाईंको प्रतिक्रिया