घरबेटीले हिजो भर्खर भाडा बढायो ।
‘पढ्न त जेनतेन पठाउँछन घरबाट । यसपालि भाडा नबढाउँदा हुन्न?’ मैले मुखै फोरें ।
घरबेटी कड्कियो, ‘महंगी देखेन?’
‘देख्या छु ।’
‘अनि…., उसै त आफ्नो याँ एउटा कोठा खाली नै छ’
घरबेटी छततिर उक्लियो । मैले दाँत किटें ।
***
हिजो बढाएको भाडाले मलाई आजसम्म रिंगटा लाग्यो । घरै फेरुँ कि झैं लाग्यो । तर पढाइ नसकी दश घर चाहार्न मन भएन । फेरि यो घरमा मन अल्झाउने बाटो पनि छ एउटा । त्यही पारु । पानी भर्दा भेटिन्छे । प्यासेज हिँड्दा ठोक्किन्छे । आनन्द आउँछ । म छतमा बसेर त्यहि पारुको बारेमा सोच्दै थिएँ । रिंगटा लाग्ने घरभाडाको बारेमा गम्दै थिएँ । पारु जादुझैं अकस्मात् छतमै उपस्थित भई । मैले हतपत आँखाहरुलाई किताबको पानामा दौडाएँ ।
उसले छतमा धमाधम लुगा सुकाउन लागी । किताबका अक्षरहरुबाट आँखा उचालेर मैले पारुतिर हेरें । उसका लामा कपाल हावामा उडिरहेका थिए । आँखाका गाजल हाँसिरहेका थिए । तर ऊ भने हाँसेकी थिइन । एकदम मौन । मैले मोबाइल गोजीबाट झिकें र गीत बजाएँ, ‘कसरी भनुँ म मनको कुरा… , पहिलो पहिलो हो मेरो माया हजुरलाई..’ उसले पुलुक्क मतिर हेरी । मैले मोबाइलमै आँखा गाडिरहें ।
***
‘आज मेरो नि पानी भर्दिनु हुन्छ?’ नजिकैबाट आवाज आयो । पारु रैछे । पहिलोचोटि होला ऊ मसँग बोलेको । मैले खुशीले भनें, ‘भइहाल्छ नि !’
म पानी भर्दै थिएँ । पारु मुस्कुराई र हिँडी । मोरीको मुस्कान पनि कति धारिलो । मुटु नै छेडिएला जस्तो ।
त्यति नै बेला एउटा बाइक आएर घरको गेटनजिक रोकियो र एउटा मोटे मोटे केटो भित्र छिर्यो ।
‘घरपेटी कता हुनुहुन्छ ?’ उसले मलाई सोध्यो ।
‘यतै हुनुहुन्छ ।’ मैले घरबेटी बोलाइदिएँ ।
उसको नाम जय रहेछ । घरबेटीसँगको कुरामा उसले परिचय गर्यो । जयले भाडामा कोठा लिने भो । घरबेटीले बत्तीको, पानीको, फोहोरको पैसा थुपार्दा पनि उसले चुइँक्क गरेन । जाने बेलामा कोठा पेन्ट गरेर जानुपर्ने शर्तले पनि जयलाई छोएन । उसले साहूजीका सबै शर्तहरु मान्यो । पाँच हजार झिकेर घरबेटीतिर बढायो र हिँडयो । घरबेटी मख्ख पर्यो । अनि मतिर कोल्टे हेर्यो उतिबेलै ।
‘मान्छे गज्जबकै रैछ, कमाइ दरो जस्तो छ मोराको ।’ घरबेटी बोल्यो ।
‘होला त नि !’ मैले मुख लेप्य्राएँ ।
‘यस्तै यस्तै मान्छेले घर भरिए जाति नै हुन्थ्यो ।’ घरबेटी माथितिर उक्लियो ।
मैले पछाडिबाट उसलाई लोप्पा ख्वाइदिएँ ।
जय बस्न आइसकेको थियो । त्यसको ढोकाको चेपबाट म कोठाभित्रको सामान आक्कलझुक्कल देख्थें र अनौठो मान्थें । एउटा कोठा भएपनि त्यसले खुब सजाएको थियो । सोफा सेट त झन गज्जब थियो । तर त्योसँग म बोलेको थिइन । एकदिन उसैले भन्यो, ‘भाइ खाजा खायौ?’
‘छैन ।’ जवाफ दिएँ ।
‘चाउचाउ छ मसँग । बनाएर खाऊ, अनि मलाइ नि बनाइदेऊ…’ डर लाग्दोगरी अर्डर गर्यो उसले । मैले मानें ।
त्यसो भनिरहँदा दिउँसोको दुई बजेको थियो । ऊ भर्खर सुतेर उठेको थियो । उसको उठ्ने बेलै यही । ऊ राति एक–दुई बजेतिर आउँथ्यो र आफ्नो पल्सर बाइक रातभर बाटो छेउको सिँढीमा त्यतिकै छोडिदिन्थ्यो । डर र भर दुवै नभएको मान्छे ।
साँझपख म छतमा उक्लिँदा जय पारुसँग गफिँदै रहेछ । मैले टाढैबाट सुनें । उसले भनिरह्यो, ‘अँ तिम्रो घरतिर गा’छु म …..दामी छ त्यो एरिया ….। अब जाने बेलामा मलाई नि भन्नु । सँगै जाउँला नि ।’
‘जाने नजाने ठेगान छैन मेरो ।’ पारु बोली ।
‘किन र? भागेर बे गर्याजस्तो कुरा पो गर्यौ त… ?’
‘छैन…..काँ….,’ पारु लजाई ।
म अप्ठयारो मानी मानी नजिक गएँ ।
जयले देख्ने बित्तिकै भन्यो , ‘ओ ब्रो…..के हो पढाइ चल्दैछ?’
‘अँ दाइ …’, मैले भनें ।
जयले मेरो हातको किताब आफूले लियो र एकछिन त्यसका पानाहरु पल्टायो । बुझ्यो, बुझेन थाहा छैन । त्यही मौकामा मैले पारुको अनुहार हेरें । ऊ राती देखिई ।
ठीक लागेन मलाई त्यो जय । साँच्चै भन्दा अब म त्योसँग नबोल्ने योजनामा थिएँ । ऊ अलि अटेरी खालको थियो । काम गर्न पनि अर्डर दिने । बल्ल तल्ल एक–दुई वचन बोलेकी पारुलाई पनि लाइन मार्न खोज्ने खालको । भित्रभित्रै साह्रै रिस उठयो मलाई । त्यसैले अप्ठयारो मानी–मानी पनि मैले पारुको ढोका ढकढकाएँ । पारु ढोकामा उभिई र सोधी, ‘के हो?’
मैले दायाँ बायाँ हेरें र भनें , ‘तपाईं त्यो जयसँग नबोल्दा हुन्छ…’
‘ह्वाट?’ पारुले मुख बाई ।
‘त्यो मान्छे ठीक जस्तो लाग्दैन मलाई ।’
‘तपाईंलाई के को चासो?’ पारुले ढोका लगाई । म रिसले ढोकामै उभिरहें । घरबेटी आइपुग्यो र मलाई ढोकानिर उभिएको देखेर तलदेखि माथिसम्म शंकाले हेर्यो । म उसलाई हेरेर फिस्स हाँसे ।
सोध्यो – जय बाबु काँ गएछन्? दुई महिनाको भाडा लिनु थियो ।
‘काममा होला ।’, मैले हचुवामा भनें ।
‘भेट्नै गाह्रो तिनलाई, यो रेस्टुरेन्टको काम पनि…’ घरबेटी बोल्यो ।
‘रेस्टुरेन्टमा काम गर्ने रे…?’ मैले फेरि चासो दिएँ ।
साँच्चै मलाई जय के काम गर्छ थाहा थिएन ।
‘काम मात्र हैन… रेस्टुरेन्टै आफ्नो रे….’ घरबेटीले जवाफ फर्कायो ।
मैले आँखा ठूलो पारें ।
***
त्यो रात जयको पल्सरको आवाज सुनिएन । ऊ आएन । भोलिपल्ट घरबेटीले बन्द ढोका हेर्यो र फरक्क फर्क्यो । पर्सीपल्ट, निपर्सीपल्ट पनि जयको ढोका बन्दै रह्यो । घरबेटी छट्पटिरह्यो । म त्यसको छटपटी देखेर अचम्म मानिरहें । खासमा त्यो पैसाको छटपटी थियो । मैले बुझेको थिएँ ।
पारु पनि मसँग बोल्न छाडी । मलाई पनि किन भन्न पर्या हो सब । कहिलेकाहीं मान्छे बहुलाउँछ भन्या हो रैछ । हिजोआज त मेरो गन्धले पनि टाढा हुन्थी पारु ।
पारु पनि मसँग बोल्न छाडी । मलाई पनि किन भन्न पर्या हो सब । कहिलेकाहीं मान्छे बहुलाउँछ भन्या हो रैछ । हिजोआज त मेरो गन्धले पनि टाढा हुन्थी पारु ।
एक महिना, दुई महिना , तीन महिनै बित्यो । जय आएन । अचम्म भयो । घरपेटीले पाँच छ महिनाको पैसा नतिरी भागेको शंका गर्यो । मलाई पनि त्यस्तै लाग्यो । चौथो महिना लाग्ने बेलामा अति भएर घरबेटीले मलाई र पारुलाई प्यासेजमा बोलायो । पारुले मलाई अलिकति मायाले हेरेकी थिई । किन हो थाहा छैन । घरबेटीले सुस्तरी बोल्यो, ‘यो जय भन्ने मान्छे राति राति त आ छैन नि?’
‘छैन , बन्दका बन्द छ ढोका ।’ मैले भनें ।
‘धेरै भो ….अब चाँबी फोर्ने हो पुलिस बोलाएर ।’
‘अस्तिनै फोर्न पर्ने तपाईंले ….’, मैले उकासें ।
घरबेटी हामीसँग कुरा बुझेर हिँड्यो ।
घरबेटीले कोठा फोर्ने लगभग सबै तयारी गरेको थियो । वरिपरिका केही मान्छेहरु पनि जम्मा भए । तर त्यही बेला सातवटा पल्सर बाइकहरु हुँइकिएर घरको गेटमा झयाप्प ब्रेक लाउँदै रोकिए । जयको मुहारमा थोरै अबिर पोतिएको थियो । गलामा माला थियो । ऊ सरासर केटाहरुलाई लिएर कोठामा पस्यो । त्यहाँ उपस्थित मान्छेहरुले देखेर पनि नदेखेझैं गरे । पस्ने बेलामा जयले घरबेटीलाई भन्यो, ‘दाइ के छ? घरमा पार्टी सार्टी….?’
घरबेटी हाँसेजस्तो गर्यो ।
एकैछिनमा घरबेटीले बोलाएका एक असई र तीन प्रहरी पनि आइपुगे ।
घरबेटीले पुलिसहरुलाई देख्ने बित्तिकै हात मोलेर भने, ‘उहाँहरु भर्खरै आउनु भो । चाँबी फुटाउन नपर्ने भो । ’
‘राम्रो नि त्यो त….।’ असईले भने ।
पुलिस आएको देखेर जय फुत्त बाहिर निस्क्यो । असई छक्क पर्यो । जयले असईसँग हात मिलायो र सोध्यो ‘किन आउनु भा हो असई साप ?
‘कोठा धेरै दिनदेखि बन्द भो , हेर्दिनु प–यो भन्नु भो वाँ घरबेटीले…त्यसैले ।’
‘केही छैन, हामी आइसक्यौं । थ्याङक्यु ।’ जय कोठामा गयो । जानुभन्दा अघि उसले घरबेटीलाई एकपटक कर्के हेर्यो । घरबेटी फेरि हाँसेजस्तो गर्यो ।
जय कोठातिर गइसकेपछि असईले सुटुक्क भने , ‘यिनको नाम कैंडे डन हो । तीन–चार महिना भयो क्यारे यिनले एउटालाई खुकुरी हान्या । त्यसैले जेल बसेर भर्खर छुटेका ।’
असईको कुरा सुनेर घरबेटी एक्कासी खङ्रङ्ग भयो । मेरो खुट्टा त झन् लल्याक–लुलुक्कै भयो । मैले एकपल्ट पुरै रिवाइन्ड गरें, कहीं कतै मैले जयलाइ नराम्रो केही भनें कि भनेर ….। तर धन्न केही भनेको सम्झना आएन ।
‘ठिकै छ, केही नभन्नुहोला, मिलेर बस्नुहोला । भर्खर सजाय भोगेर आ छन् ।’ असई र अन्य प्रहरीहरु बाटो लागे ।
घरबेटीले टाउको समायो र थ्याच्च बसुँला झैं गर्यो । म भित्रभित्रै खुशी भएँ । मैले भनें, ‘कमाइ त दह्रै भाका मान्छे रैछन् । यस्तै मान्छेहरुले घर भरिए क्या जाति हुन्थ्यो ।’
घरबेटीले मलाइ ठूलो कर्के आँखाले हेर्यो ।
***
‘तपाईं मान्छे चिन्नु हुँदो र’छ’ – एकदिन मलाइ पारुले भनी ।
‘थ्यांक्यु’ मैले छाती तन्काएँ । पारुले मायाले हेरी । कस्तो कस्तो अप्ठयारो लाग्यो । त्यही दिन पारुले मलाई आफ्नो कोठामा बोलाई र मीठो चिया खुवाई । चिया भन्दा पनि उसको हेराइ मिठो थियो त्यतिबेला ।
‘घरपेटी घरमा छैनन कि?’ उसले प्रश्न गरी ।
‘होलान् ।’, मैले यत्ति बोलें ।
‘निस्केकै छैनन् र नि ।’ उसले भनी ।
मैले उत्तर दिन सकिन । साँच्चै कैँडे डनको हर्कत सुनेदेखि घरबेटी माथिबाट तलतिर ओर्लेका थिएनन् । तिनी भित्रैतिर भूमिगत भएका थिए ।
***
जय भर्खर उठेको थियो । घरबेटी धेरै दिनपछि देखा पर्यो । उसको व्यवहारमा पहिलेजस्तो आत्मीयता थिएन । बोलीमा मिठास थिएन । स्वरमा कम्पन थियो र बोल्नु नपरे हुन्थ्यो भने भाव थियो । त्यसैले उसले ढोकाबाट बिस्तारै चियाउँदै भन्यो, ‘जय बाबुको के छ कुन्नि?’
‘सब ठीक छ ।’ जय भित्रबाट बाटोसम्म सुनिने गरी बोल्यो ।
‘दाइको छोरी आउँछु भन्छे……अब बाबुले अन्ततिर यसो कोठाको केही चाँजो पाँजो….’
‘अन्त ल्या’र राख्नु नि । पैले भन्या हैन पाँच बर्ष बस्छु भनेर …..’ जयले बीचमै प्वाक्क बोल्यो । घरबेटी नराम्ररी झस्क्यो । र लुरुक्क परेर फर्क्यो ।
आज अचानक घरपेटी झलमल्ल बलेझैं देखियो । पहिलेजस्तै चञ्चल । अचम्म लाग्यो । कोठाभाडा बढाउने निहुँ हो कि जस्तो लाग्यो । तर उसले कोठाभाडाको कुरै निकालेन ।
त्यसपछि घरबेटीले जयलाइ केही भनेन । जयको ग्यांग बेला–बेलामा कोठामा आउँथ्यो र गुपचुप बैठक गर्थ्यो । गर्मी बढ्दै गएपछि जयको बडेमानका पाखुरामा खोपिएका डरलाग्दा टाटुहरु देखिए । घरबेटी त पहिलेदेखि नै डराएको थियो । झन् टाटु देखेर उसको होस उड्यो । म र पारु पनि जयसँग बोल्दैन थियौं । हिँड्दा प्यासेजमा जम्काभेट भइहाल्यो भने म फिस्स हाँस्न चाहिँ छोडेको थिइन । घरबेटीलाई जय साह्रै घाँडो भएको थियो ।
उसले पैसा माग्नै छाड्यो । पैसा भन्दा अब ज्यान ठूलो लाग्न थाल्यो शायद । जय अर्थात् कैंडे डन । मान्छे काटेका र अपहरणका कुराहरु सुनेपछि घरबेटीको बोली बन्द भयो । घरबेटी तनावले बिस्तारै गल्दै गयो । पहिलेको हँसिलो र खुरापाती अनुहार मुर्झायो ।
घरपेटीको दिमागमा नयाँ उपाय फुर्यो । घरबेटी आफूले भोट हालेको आफ्नो क्षेत्रको नेतालाई भेट्न गयो । म पनि उसको साथी भएर गइदिएँ । ऊ जसरी पनि जयलाई घरबाट निकाल्न चाहन्थ्यो । नेताको अघि परेर उसले सबै घटनाक्रमको बेलीबिस्तार लगायो । नेताले केही गर्ने वचन दियो । तर वचन दिएको दुई मिनेट पनि बित्न नपाउँदै जय उसका केही साथीहरु लिएर त्यही नेता भेट्न पुग्यो ।
उसले नेतालाई दर्शन गर्यो र भन्यो, ‘दाइ विशेष कुरा गर्नु छ ।’ नेता जयसँगै गोप्य कक्षतिर लाग्यो । घरबेटी तीन छक परेर सुस्ताइरह्यो । मेरो त के कुरा भो र? म त झन् चार छक परें ।
केही सीप लागेन । काठमाण्डुका मान्छे कस्तो भनेर चिन्न उस्तै गाह्रो । घरबेटी दिनरात सोचमग्न देखियो । उसकी छोरी वा श्रीमती आउँथे र जय बाहेक हामीसँग पैसा बटुल्थे । एकदिन घरबेटी तनावमा रन्थनिदै घरभित्र छिर्यो । मसँग सँघारमै भेट भयो । मैले सोधें, ‘घरबेटी बा, के भो?’
‘जे नुहुन थियो, त्यहि भो नि । फेरि सत्यानाश भो ।’ घरबेटी भुत्भुतायो ।
‘के?’
‘टोलको डनलाई यो कोठै नछोड्ने मोरोलाई तर्साइदे न बाबु भनुँ भनेर गाको त …..के भन्छ था छ ?’, घरबेटी बोल्यो ।
म सुन्न आतुरिएँ ।
‘मेरा गुरुको बारेमा नेगेटिभ बोल्छस्? भनेर झन्डै मारेन । हप्ता उठाउने डनको त बाउ र’छ त्यो । हे …भगवान् ।’
घरबेटीको कुराले म जोडले हाँसे तर भित्रभित्रै ।
***
आज अचानक घरपेटी झलमल्ल बलेझैं देखियो । पहिलेजस्तै चञ्चल । अचम्म लाग्यो । कोठाभाडा बढाउने निहुँ हो कि जस्तो लाग्यो । तर उसले कोठाभाडाको कुरै निकालेन । बरु खुशीको एक गुच्छा मतिर फयाँक्यो र धमिलो काठमाण्डुलाई हेरिरह्यो । मैले के होला उसको खुशीको कारण पत्ता लगाउन खोजिरहें । तर सकिन ।
कोठामा पुगेर टेलिभिजन खोलें । टेलिभिजनमा समाचार आइरहको थियो । चपिंग बोर्डलाई तेर्साएर तरकारी काट्न थालें । समाचारवाचक टेलिभिजनको पर्दा भित्रबाट भट्याउँदै थियोे, ‘कैंडे डन भनेर चिनिने जय आज दिउँसो प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।’
पछिल्लोपल्ट शनिबार, माघ २७, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया