कवि वीरु वाङ्देल सम्मानित − Kalakarita
कवि वीरु वाङ्देल सम्मानित

शुक्रबार, चैत्र २३, २०७४, ०७ : ५२कलाकारिता

काठमाडौँ, २३ चैत – नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएवापत भारत सिकिमका कवि वीरु वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार’बाट सम्मान गरिएको छ ।

जसराज किराती साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार वैरागी काइँलाले नगद रु ५० हजारसहित कदरपत्रद्वारा उनलाई सो सम्मान गरिएको हो ।

वाङ्देलका कविता संग्रहमा ‘सूर्य अघि उभिएको छायाँ’, ‘आहट मानेभञ्ज्याङ’, ‘एउटा सामाजिक उपन्यास’, ‘केही नक्षत्र हाम्रा’, ‘सिर्जनाका फूलहरुः इन्द्रेणीका रङहरु’ (जीवनी संकलन)लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

सो अवसरमा साहित्यकार काइँलाले भारतका सिक्किम, दार्जिलिङलगायत स्थानमा बस्ने नेपाली मूलका विदेशीले नेपाली भाषाको विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याएकोमा खुशी व्यक्त गरे ।

साहित्यकार डा. विष्णु राईले खोटाङमा जन्मेका जसराज किरातीले ग्रामीण परिवेशलाई बिम्ब बनाई साहित्य सिर्जना गरेका कारण उनका शुभेच्छुकले उक्त प्रतिष्ठान गठन गरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा सक्रिय स्रष्टालाई पुरस्कार गर्ने नीति लिएको जानकारी गराए ।

प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार शशी लुमुम्बु लगायतले सम्मानित वाङ्देलका कृतित्वबारे प्रकाश पार्दै साहित्यले समाज सुधारका क्षेत्रमा सहयोग पुर्‍याउने धारणा व्यक्त गरे ।


तपाईंको प्रतिक्रिया