अनि सानी जन्मिइन् − Kalakarita
अनि सानी जन्मिइन्

शनिबार, वैशाख १, २०७५, ०५ : ५२प्रतिभा गौतम

काठमाडौं, १ वैशाख – हुन त लेख्नै भनेर बस्ने हो भने, सबैका जीन्दगीसँग आमा बन्दाका र त्यसबाहेकका पनि अनेकन अनुभवहरूका चाङ हुन्छन् । सबैलाई आफ्ना अनुभव अरूका भन्दा विशेष लाग्छन् । त्यो सत्य र स्वभाविक पनि हुन्छ । किनकि कोही एक व्यक्तिले भोगेको जिन्दगी, समय र अनुभव पूर्ण रूपमा अर्को कोही कसैसँग कहिल्यै मिल्न सक्दैन । संयोगवस थोर बहुत मिल्न जानु, त्यो अलग कुरा रह्यो ।

म जन्मिएको कुरा सुनाउँदा मेरी आमाको आँखामा बेग्लै किसिमको चमक हुन्थ्यो। गालाहरूमा गुराँसको लाली पोतिन्थ्यो । ओठमा अर्धचन्द्र खुल्थ्यो । अनि, मुहारमा सन्तुष्टि देखिन्थ्यो प्रशस्त ।

यतिबेला आफ्ना अक्षरहरूमार्फत म पनि आफ्नी छोरीको जन्मको कुरा अझ उनको जन्मदिनकै दिन पारेर यसरी सुनाउँदै गर्दा विल्कुल त्यस्तै देखिएकी छु । म पनि ठ्याक्कै त्यस्तै रोमाञ्चित भइरहेकी छु । बरू, कहाँबाट कसरी पो शुरू गर्ने होला भनेर एकदमै चञ्चल भैरहेको मेरो मन जस्तै यतिखेर मेरा हातका औंलाहरू भने केही बढ्तै चुलबुल भैरहेछन् छोरीको जन्म सम्झेर ।

नेपालमै हुनु भा एउटै नानी पनि पढाउन, बढाउन, हुर्काउन कठिन हुने थियो । स्पष्ट भन्नुपर्दा दिन दुगुणा, रात चौगुणा बढेको महंगीमा एउटै सन्तान थेग्न पनि हम्मे हम्मे पर्ने थियो । मेरो पुस्ताका अधिकांश साथीहरू र आफन्तहरू सबैले एकल सन्तानमै चित्त बुझाएझैं मैले पनि दोस्रो सन्तानको बारे सोच्दिनथें होला, शायद ।

ठूली छोरी लगभग पाँच वर्षकी भइसकेकी थिइन् । अमेरिका आइसके पछाडि यहाँको स्थिति, परिस्थिति, घटना, परिघटना र एक्लोपनले मेरो कानमा कस्तो साउती मार्न थाले भने, कम्तिमा मेरी छोरीलाई अर्को साथी मात्र भने पनि चाहिन्छ । फलस्वरूप अर्को सन्तानको योजना गरियो ।
शुरुका एक डेढ महिना सबै कुरा सामान्य थिए। तत्पश्चात सुरू भयो खाने कुराहरूसँगको कठिन संघर्ष ।

पानी पिउनु त परको कुरा पानी भरेको बोटल देख्दा सम्म पनि वाकवाकी लाग्थ्यो। पाक्दै गरेका खानेकुराहरूको गन्धले त झन एकाएक चक्कर छुटाउँथ्यो ।

त्यतिबेला आफ्नो वरीपरी बहने हावा नै पुरै गुम्सिएर बाफिएझैं तातो लाग्थ्यो। ठ्याक्कै नेपाल छँदा पूर्व पश्चिम जाने बसभित्र कोचिनु पर्दाको जस्तो गर्मी अनुभव हुन्थ्यो, हर प्रहर। जहाँ गए पनि मलाई कहिल्यै ताजा हावामा सास फेर्न पाएझैं लाग्थेन ।

हावा गनाँउथ्यो । पानी गनाँउथ्यो । एक हिसाबले पूरै अमेरिका नै गनाएझैं लाग्थ्यो मलाई । इमान्दार भएर भन्नुपर्दा त्यतिबेला मैले सबैभन्दा धेरै असार साउनको तराईको हिले फाँटको गन्ध सम्झिएँ होला । सम्झना आउनुपर्ने अरू यावत कुराहरूको बावजूद पनि, मलाई किन असारे हिलोकै गन्धको मात्र न्यास्रो लाग्यो होला त? यस्को उत्तर म आफैंसँग छैन । शायद यसको उत्तर कहिल्यै कसैसँग पनि हुने छैन ।

एवम् रितले करिब ६ महिनासम्म भात लगाएतका सम्पूर्ण चिजलाई आलुको अचारले र पानी जुस लगायतका तरल पदार्थहरूलाई मोही मात्रले विस्थापित गर्‍यो । अर्थात्, तमाम अन्य खाद्य पदार्थ मेरो ज्यानले सहेन ।

हिँड्दा हिँड्दै बाटोमै, गाडीमै, काममा जहीं पनि जतिबेलै पनि वाक्न पर्ने हुन सक्थ्यो। त्यसैले आफू सतर्क रहनुपर्थ्यो। घरबाट पूर्वतयारीका साथ निस्कनुपर्थ्यो ।

त्यसैबेला थाहा पाएँ खानेकुरा खाएपछि भन्दा खाली पेटमा वान्ता गर्न कयौं गुणा बढ्ता सकस हुने रैछ । आँखाहरू राता हुन्थे । आँसु बरररर झर्थे । आफ्नै ज्यान सम्हाल्न आफैंलाई सकस पर्थ्यो । फेरि पनि आफूलाई भइरहेको अप्ठेरो बारे कहिल्यै कसैलाई पनि सुनाउन मन लाग्थेन। सुनाएको नै भएपनि कस्ले के नै गर्न सक्थ्यो र? औषधि खान सल्लाह दिने सम्म त हुन् । र, मलाई औषधीले काम गरेको थिएन ।

कहिलेकाहीं शरीरमा पानीको मात्रा एकदमै कम हुन्थ्यो। त्यस्तो बेला अस्पताल गयो, २-४ सीसी सलाइन चढायो । अनि फेरि भोलिपल्ट सामान्य बनेर काममा फर्कियो ।  दिनदिनै सिकीरहेकी थिएँ, जब मान्छे भावनात्मक रूपमा बलियो हुन्छ । मानसिक रूपमा बलियो हुनुपर्ने अवस्था आउँछ । तब शारिरीक कमजोरीले खासै केही पनि फरक पार्दैन रैछ ।

परदेशी भएपछिको पहिलो वर्षको संघर्ष परदेशीनेहरू सबैले बुझेकै हुन्छन्। आफ्नो पिता पुर्खाको भूमिदेखि पर गएर बाँच्न खोज्ने पहिलो पुस्ताको संघर्ष लगभग सबै ठाँउमा सबैका उस्तै नै हुन्छन् । हाम्रो शुरूवाती संघर्ष पनि त्यस्तै नै थियो। म बिहानको काम गर्थें । अनि, मेरो पति साँझको।यसो हुँदा म कामदेखि घर आइपुग्दा कि त उनको जानेबेला हुन्थ्यो, कि त गइसकेको अवस्था ।

यसबीचमा पूरै रात एकोहोरो सुतेर उठ्नुपर्ने अर्को एउटा कठिन बाध्यता पनि थपियो । ढाड यतिसम्म दुख्थ्यो कि राती यताउता कोल्टो फेर्दै सुत्नु असम्भव जस्तै हुन्थ्यो मेरा लागि । साथीको नाममा छेउमा सँगै सुतेकी पाँच वर्षकी छोरी मात्र हुन्थिन् ।

यस्तो हुँदा पनि किन काम गर्न जानु, घर बस्दा पनि त हुन्थ्यो नि भन्ने सबैलाई लाग्न सक्छ । तर, मलाई आफू दिनभरी घर बसेर सरकारसँग हात थापेर खान आफ्नो स्वाभिमानले दिएन। म कमजोर छु, म असक्त भएँ, म काम गर्न सक्दिन भनेर भन्न मेरो आत्माले दिएन । र, यस्तो केही समयका लागि मात्र हो भन्नेमा पनि म पहिले नै जानकार थिएँ ।

अनि अर्को कुरा, मान्छेको जन्म, मृत्यु, रोग बुढेसकाल लगायतका केही कुराहरूबाहेक जीवनमा अरु धेरै कुराहरू ऐच्छिक हुन्छन् । आफ्नो जीवन सहज बनाउने क्रममा मान्छे सँधै आफ्ना वरिपरि भएका सबै विकल्पहरू मध्येबाट सबैभन्दा उत्कृष्ट विकल्पको छनोट गर्ने गर्छ । र मेरा लागि मेरा वरिपरि भएका सबै विकल्पहरू मध्येको यही विकल्प नै उत्कृष्ट थियो । फलस्वरूप म तमाम अप्ठेरोको बावजूद पनि लगातार काममा गइरहें ।

मेरो सौभाग्य भनूँ या के ! मेरो काम सजिलो र काम गर्ने वातावरण राम्रो थियो/छ । मलाई कामको वातावरण किन पनि रमाइलो लाग्थ्यो भने, त्यहाँ कम्तिमा मसँग बोल्ने, बोलाइरहने मान्छेहरू थिए। त्यसैले पनि छुट्टी लिएर घर बस्न या काम छोड्न भन्दा पनि मलाई काममा जान नै सजिलो लाग्थ्यो ।

हरेक दिन काममा पुगिसक्दा आज तिमीलाई कस्तो छ? भनेर मेरो डेक्समा सोध्न आइपुग्ने मेरी हजुरआमा जस्ती सुपरभाइजर (प्याट्रिसिया) थिइन्/ छिन। केवल उनकै कारणले र केही सिनियर साथीहरूकै कारण पनि मलाई जागिर ‘जागिर’ जस्तो नलागेर माइती घर जस्तै लाग्थ्यो ।
मान्छे आफ्नो र पराई कहाँ नाता सम्बन्धले मात्र छुट्याउने रहेछ र ! दिएका खाएका कुराहरू भोक मेटुन्जेल सम्मका न हुन् । तर, कसैको आत्मीय व्यवहार, त्यो शब्दमा वर्णन गर्न सकिने कुरा होइन रहेछ ।

अलि पछिदेखि खानामा समस्या हुन छोड्यो। आफैँलाई आफ्नो दैनिकी धेरै नै सहज लाग्दै थियो । नानी जन्मन डाक्टरले तोकेको मिति नजिक आउँदै थियो। अलि धेरै गार्हो हुन थालेपछि छुट्टी लिएर घर बस्छु भन्ने मनमा लागिरहन्थ्यो ।

अप्रिलको दोस्रो साता पनि पेन्सिलभेनियाको मौसम खासै तातीसकेको थिएन । भर्खरै बिलाएको हिउँ र त्यसपछिको वर्षातले धर्ती भिजेको र ओसिलो थियो । ठिक त्यतिबेलै नेपालमा नयाँ वर्ष पर्छ । फेसबूकका भित्ताहरू नयाँ वर्षको शुभकामनाहरूले रंगिएका थिए । तर, मलाई भने शुभकामना साटासाटमा खासै जाँगर चलिरहेको थिएन ।

सँधैझैं अप्रिल १३ तारिख अर्थात् नेपाली नयाँ वर्षको अघिल्लो दिन बिहान ४:३० तिर उठें । लन्च तयार गरें। कफि पिएँ । सावर लिएँ । काममा जान तयार भएँ । काममा जान भनेर ढोकादेखि निस्किदा ननिस्किंदै एक्कासी आफूलाई निकै नै अप्ठेरो अनुभव भयो । शुरूमा त झस्किएँ । अनि फेरि लाग्यो, नानी जन्मिने बेला नजिकै आउँदै छ, यसैले पनि होला । त्यो अप्ठेरोपनलाई मैले सामान्य रूपमा लिएँ। किनकि डाक्टरले नानी जन्मन तोकेको मिति अर्को महिना अर्थात मे महिनामा मात्र पर्थ्यो ।

त्यसदिन पनि काममा बेलैमा पुगें । सबैले कस्तो छौ भनेर सोधिरहेकै थिए, सधैजस्तै। मैले सबैलाई भनें, ठीक छु ।

कतिहरू मेरो ठुलो पेटमा छुन मन पर्यो भन्थे । अनि मसँग अनुमति माग्थे । म मुसुक्क मुस्काउथें र अनुमति दिन्थेँ । धेरैहरूले पेटमा हुर्कँदै गरेको बच्चाको जेण्डर ( लिङ्ग ) सोध्थे । म छोरी छिन भनेर जवाफ दिन्थें । उनीहरू खुसी भएर तिमीजस्तै हुनेछिन् तिम्री छोरी पनि भनिरहेका हुन्थे । कतिहरूले के नाम राख्छेस् भनेर पनि सोध्थे।

लन्च टाइममा साथीहरूले नानी जन्मन डाक्टरले दिएको मितिबारे फेरि पनि कुरा निकाले। मैले अर्को महिना हो भनिदिएँ ।
त्यसपछी उनीहरू खाँदाखाँदै एकछिन रोकिए । पुलुक्क मेरो अनुहारमा हेरे । मलाई केही असहज लाग्यो । मैले त्यो असहजता सकभर लुकाउन खोजें । र अनुहार हँसिलो बनाइरहें । उनीहरू भन्दै गए, ‘तिमी धेरै गाह्रो भएजस्तै देखिन्छ्यौ, तिम्रो अनुहार एकदमै धेरै थाकेको र गलेको देखिएको छ । तिमीले अब छुट्टी बस्नुपर्छ ।’

मैले मुस्कुराउँदै भनें, ‘छुट्टी त बस्छु तर सकुन्जेल आउने कोशिश पनि गर्नेछु, घर बस्न यहाँ आउनु भन्दा पनि धेरै कठिन लाग्छ।’
साँच्ची नै घर त बस्ने ! छुट्टीको दुई दिन घर बस्दा सम्म त खुट्टा पोलेर, सुन्निएर र दुखेर सुत्न बस्न नसक्ने मान्छे म, घर बस्ने भन्ने बारे कल्पना पनि गर्न सक्दिनथें । कमसेकम जागिरमा हुँदा, मेरो पूरै ध्यान काममा हुन्थ्यो । आफूलाई गाह्रो भैरहेको कुरा सजिलै बिर्सन सक्थें। बरू मलाई त्यस्तै सजिलो लाग्थ्यो।

साँझ घर पुगेपछि (Doula) जामीलाई फोन गरें। बिहानको घटना सुनाएँ। उनले नडराउन र फेरि फेरी पनि त्यस्तो अप्ठेरो अनुभव भयो भने तुरून्त अस्पताल जान या उनीलाई सम्पर्क गर्न सुझाइन् । मेरो मन शान्त भयो ।

त्यस रात… सधैभन्दा मलाई अझै धेरै अप्ठेरो लागिरहेको थियो । मुस्किलले दुई घण्टा पनि निदाउन सकिनँ । एकापट्टी फर्केर सुतेपछि अर्कोतिर फर्किन त सक्दिनथें नै । राति तीन चार बजेतिर पति कामबाट फर्किए । काममा फोन गरेर छुट्टी माग भनेर भन्न थाले । अस्पताल जाउँ भनेर कर गर्दै थिए । मलाई पनि मन भित्रैदेखी हरेस त लागिरहेकै थियो। ज्यान पनि नराम्ररी गलेको थियो।

फेरि पनि किन किन एकपल्ट काममा पुगेर प्याट्रिसियालाई भेटेरै मात्र भएपनि फर्किनु जस्तै भयो । त्यसपछि बरू अलिक दिन घरमै बसेर आराम गर्छु भन्ने सोचेँ । अनि म त्यसदिन अर्थात् नेपाली नयाँ वर्षको दिन अप्रिल १४ तारिख पनि सँधैजस्तै काममा हिँडे ।

आधा बाटो जति पुगेपछि हल्का वाटर व्रोकको अनुभव गरें। खासै ठुलो त थिएन तैपनि, म झस्किएँ। मन चिसो भयो। कस्तो कस्तो खल्लो खल्लो जस्तो लाग्यो। काममा नहिंड्न पो पर्थ्यो कि पनि भन्ठानें। फेरी आफैंले आफैँलाई सम्झाएँ । एकछिन पुगेर फर्किहाल्छु। पुरै दिन बस्दिन । त्यसभन्दा बढ्ता अरू कुनै दुखाई र अप्ठेरो महसुस भएकै थिएन। त्यसैले खासै डराईन। अप्ठेरो नै परेको खण्डमा एम्बुलेन्स बोलाँउदा हुन्थ्यो । म घरमा संधै एक्लै हुन्छु भनेकी भएर इन्स्योरेन्सले मेरो लागि नर्स र Doula दिएको थियो। उनीहरूको फोन नम्बर साथमा थियो । फोन गरिसक्दा उनीहरू आईपुग्थे। उनीहरूले नै पनि फोन गरिरहन्थे। आत्तिनुपर्ने खासै केही थिएन।

काममा पुगेँ। संधैझै काम गर्न सुरू गरें। प्याट्रिसियासँग कुरा गर्न बाँकी नै थियो। बिहान सबैभन्दा पहिले उनले मेनेजरसँग मिलेर बैंकमा आएको नगदको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो काम प्राय आठ या साँढे आठ बजेसम्ममा सकिन्छ। त्यस्तो बेला उनीहरूलाई डिस्टर्व गर्न प्राय मिल्दैन। त्यसैले उनीहरूले त्यो काम सक्नासाथ उनीसँग एकछिन गफिन्छु। त्यसपछी घर जान्छु भन्ने मनमा सोचीरहेकी थिएँ ।

काम गर्न थालेको एक घण्टा भैसकेको थियो। आठ बजे तिर म आफ्नो कुर्सीबाट जुरूक्क उठें। किनकी, मलाई अर्को अकाउन्टका केही चेकहरू डिपोजिट गर्नुपर्ने भयो।र, ति चेकहरू लिन आफु बसेको ठाउँबाट केही पर जानुपर्थ्यो।

कुर्सीदेखी उठ्दा नऊठ्दै अचानक फेरी पनि वाटर व्रोकको अनुभव भयो। म साँच्ची नै धेरै तर्सिएँ। किनभने यो एकदमै ठुलो थियो। अघिल्लै दिनदेखी प्याड लगाईरहेकी थिएँ,धन्न मेरा कपडा पुरै भिज्न पाएनन्।

त्यसपछि कसैलाई केही नभनि कामदेखी निस्केर सरासर आफ्नो लकरमा पुगें। त्यति नै बेला मेरी मेनेजर र प्याट्रिसिया दुबैजना त्यही बाटो भएर हिंड्दै रहेछन। उनीहरूले मलाई देखे। अनि, दुबैले जिज्ञासा राखे”के म ठिकै त छु”।

मैले अघिल्लो दिनदेखीका सबै घटना सुनाएँ। उनीहरू एकदमै आत्तिए । तत्काल एम्बुलेन्स बोलाउन खोजे। मैले उनीहरूलाई रोक्दै भनेँ, ” मलाई खासै गार्हो भएको छैन। म सबैभन्दा पहिले त आफ्नै पतिलाई बोलाउन चाहन्छु”।

त्यसपछि मेरी मेनेजरले प्याट्रिसियालाई मेरो पति आई नपुगुञ्जेलसम्म म सँगै रहन आदेश दिएर आफु काममा फर्किइन्। त्यसबीचमा हामीहरूले आफ्ना केटाकेटी, उनीहरूको जन्म, यसबिचको संघर्ष, त्यसपछीको अवस्था जस्ता धेरै बिषयमा कुरा गर्यौ। मलाई उनको व्यवहार मेरी हजुरीको जस्तै लाग्थ्यो। जब उनले मेरो नामले बोलाउथिन,उनको आवाज पनि बिलकुल मेरी हजुरीकै जस्तै लाग्थ्यो।

मैले उनीसँग भनेँ ” मेरी आमा हजुरआमाले जसरी मलाई यसरी हरहमेशा ख्याल गरेकोमा धेरै धेरै धन्यवाद। यतिन्जेलको साथ,सहयोग र मायाको लागि धन्यवादका शव्दहरू मात्र त साँच्ची नै कम पर्छन। यहाँ विशेष सबैहरूले गरेको मायाकै कारण मलाई जागिर,जागिर जस्तो मात्र कहिल्यै लागेन। सबैहरूप्रति एकदमै आभारी छु। र, तिमी मलाई बिलकुल मेरी हजुरीजस्तै लाग्छ्यौ”। मेरा कुराहरू सकिंदा नसकिंदै उनले आफ्नो चस्मा खोलीन। उनका आँखाका चेपहरू रसाईरहेका थिए। तिनलाई पुछिन। अनि मलाई धेरै बेर अंगालिन र भनिन” तैंले मलाई रूवाइस् ।”

केही बेरमा पति आइपुगे । उनले पतिलाई मेरो राम्रो ख्याल गर्न सुझाइन्। अस्पताल गएपछिको अवस्था के कसो हुन्छ उनलाई फोन गरेर सुनाउँदै गर्नु भनेर भन्न पनि छुटाइनन्। हामी दुबैले सहमति जनायौ । त्यसपछी हामीहरूले आपसमा बिदाईका हातहरू हल्लायौं।

पतिले सिधै अस्पताल जाऔं भन्न थाले। मैले पहिले घर जाउँ भनेर जिद्दी गरें । किनकी, मलाई काममा जाँदा लगाएका आफ्ना लुगाहरू फेर्नु थियो।

घर पुगियो। लुगाहरू फेरें । अस्पताल जान तयार त भएँ । एकाएक तातो दाल र भातको तिर्सना भयो । त्यसपछी तातो दाल, भात र आँपको अचार खाएर अस्पताल तर्फ लाग्यौं ।

अस्पताल जाँदै गर्दा बाटोमा मलाई कम्मर र ढाड दुख्दै, निको हुदै,फेरी दुख्दै,निको हुंदै गर्न थाल्यो। त्यतिबेला दुखाईको रन्कोले बाटोका ट्राफिक लाईटहरूसँग पनि मलाई एकदमै रिस उठेको थियो।

अस्पताल त पुगियो ।तर, गाडी पार्क गर्ने ठाउँ कतै भेटिएन। मलाई सहनै नसक्ने गरी ढाड, कम्मर र पेट दुखिरहेको थियो। त्यस्तैमा मेरो पतिले पार्किङ लटको छेउमै रहेको एलीभेटरको छेउमा गाडी रोके। मलाई अस्पतालको आकस्मिक कक्षतिर जाँदै गर्न निर्देशन दिएर उनी आफु भने गाडी राख्ने ठाउँको खोजीमा निस्किए।

बल्लतल्ल गाडीदेखी निस्केर एलीभेटर सम्म त पुगेँ। असह्य दुखाईको कारण मलाई राम्ररी उभिन पनि मुस्किल भईरहेको थियो। जसोतसो अस्पतालको आकस्मिक कक्षमा पुगेर नाम लेखाँउन खोज्दै थिएँ। त्यति नै बेला मेरा पति त्यहाँ पुगे।

सुरूमा केही कागजी प्रक्रियाहरू भए। मलाई अस्पतालकै लुगा लाउन भनियो। एकछिनमै मलाई एउटी नर्सले जाँचीन र भनिन ” तिमी पहिले नै ५ सेन्टिमिटर डायलेटेड छौ। तिमीले अब तत्काल लेबर रूममा जानुपर्छ। म त्यस्को तयारी गर्छु”। त्यसपछी मलाई शान्त, सफा,फराकिलो, र एउटी बच्चा जन्माउन लागेकी महिलाको लागी चाहिने सम्पूर्ण कुराहरू उपलब्ध भएको सुबिधायुक्त कोठामा लगियो।

त्यहाँ पुगेको केही बेरमा फेरी म सामान्य जस्तै भएँ। भर्खरसम्मका भयानक दुखाईहरू एकाएक निको भए। निकैबेरसम्म पनि म एकदम सामान्य रहें। त्यतीञ्जेल सम्ममा मेरी नानी स्कुलदेखी फर्किने बेला भैसकेको थियो। मेरो पति नानी लिन पुगिसक्नुपर्थ्यो। त्यसैले उनी घर फर्किए।
साँझ ५ बजे सम्म पनि प्रशव पिडाले बिल्कुल नछोएपछी मलाई “लेवर पेन इन्जेक्सन” दिईयो। सुरूमा त त्यसले मलाई एकदम मिठो निन्द्रा लगायो।

अनि म एक्कासी एकदमै चर्को दुखाईले झल्याँस्स व्युझिएँ। मैले कतै पढेकी थिएँ ,त्यस्तो बेलाको दुखाई बिस वटा हड्डी एकैपल्ट भाँचिए भन्दा पनि चर्को हुन्छ भन्ने। म त्यही अनुभव गरीरहेकी थिएँ । जामी मेरो छेउमा थिईन। म कोल्टे परेर ढल्किन मात्र सक्थे। त्यसरी ढल्किदा मैले एकदमै जोडले कसैलाई पक्रेको हुनुपर्थ्यो। त्यसरी मैले जामीलाई पक्रिरहेथे। आँखा त मैले खोलेकै थिइन् ।

करिब एक डेढ घण्टासम्मको यस्तो संघर्षपछी अब यस्तो सहन सक्दिन भन्ने जस्तो लाग्यो। जामीसँग भनेँ, “म अझै पनि यस्तो दुखाई सहन सक्दिन। उनीहरूलाई एपीड्युरल लाउन भन्द्यौ न”। बल्ल तल्ल उनीसँग त्यति मात्र बोल्न सकेकी थिएँ ।

त्यसपछी एकाएक पुरै कोठा भरिएको अनुभव भयो ।मैले धेरै पेपरहरूमा आफै साईन गर्न पर्ने कुरा जामीले मेरो कानमा फुसफूसाईन। मैले मुस्किलले आँखा खोलें। चर्को दुखाईको कारण उठ्न मुस्किल त पर्थ्यो नै। फेरी पनि ति पेपरहरूमा साईन गर्नकै लागी भए पनि उठ्नैपर्थ्यो। त्यो सबैको लागी जामीले नै सघाईन।

त्यसको लगत्तै जामी र अरूहरूको सहयोगमा मेरो ढाडको तल्लो भागमा सुई लगाईयो। त्यसको केही बेरमा मेरो पति पनि घरबाट फर्के।
अब मलाई खासै चर्को दुखाई भएन। मलाई कन्ट्र्याक्सन हुँदै थियो या थिएन भनेर छिनछिनमा उनीहरूले मेसिनबाट जाँच्थे। यति सेन्टीमिटर बाँकी छ, यस्तो उस्तो छ भन्थे। बल गर्नुस भनेर पनि भनिरहन्थे। यस्तै क्रम साँझ साढे आठ बजेसम्म निरन्तर चलिरह्यो।

एकाएक फेरी पुरै कोठा भरिएको आभाष भयो । कसैले मेरो छेउमा आएर एकपल्ट अन्तिम प्रयास गर्न भनिरहेकै बेला, त्यही भिडमा अर्को कसैले भन्दै थियो “बच्चाको टाउकोमा असर पर्न सक्छ। बिकल्पमा C- section अथवा Vacuum। मैले त्यति मात्र सुनेँ ।त्यती सुनेपछी म साँच्चै नै धेरै डराएँ। अझ भनौं आत्तिएँ। सायद त्यसरी म त्यसभन्दा अघी र पछी पनि कहील्यै डराएकी थिईन/छैन । सायद त्यही डरले हुन सक्छ। मलाई अझ धेरै शक्ति दिएछ। मैले अर्को एकपल्ट अन्तिम प्रयास गरें। मेरा आँखाहरू अचानक खुले। त्यति नै बेला मेरा आँखाहरू देब्रे तर्फ भित्तामा झुन्डिरहेको भित्ते घडीतर्फ पुगेका थिए। घडीले रातको आठ बजेर पैतालिस मिनेट बजाएको थियो। र, मेरी सानी जन्मिईन।

त्यसपछी मैले सबैभन्दा सुखको, सबैभन्दा सन्चको, सबैभन्दा लामो सास फेरें। मेरा सम्पुर्ण दुखाईहरू,पिरहरू,अप्ठेराहरू सबै एकाएक निको भएजस्तै लाग्यो। म मेरी सानीलाई हेरेर मुस्कुराएँ। ठिक त्यसैबेला मेरा दुबै आँखाहरू भरिएर टलपल भईरहेका थिए। ति मध्य केही पोखिए।केही पोखिने क्रममा थिए। केही भने आँखामै बिलाए।

त्यस्तैमा एउटी नर्सले मेरी सानीलाई बोकेर मेरो छेउमा आईन र भनिन” तिम्री छोरी दुरूस्तै तिमीजस्तै छिन”। म थप मुस्कुराएँ।
चार दिनको सकसपूर्ण अस्पताल बसाईपछी घर फर्किएँ । सुत्न,उठ्न,बस्न,हिंड्न सबैमा कसैको सहयोग चाहिन्थ्यो। खानेकुराहरू पनि खान सकेकै थिईन।

२०-२१ दिनसम्म मेरो पति काममा बिदा लिएर घरमै बसे। खानेकुरा बनाएर ख्वाए । तैपनि मलाई मनमा कस्तो अभाव अभाव जस्तो, खल्लो खल्लो जस्तो लागिरह्यो। शुन्य शुन्य जस्तो लागिरह्यो।

भेट्नै भनेर मायाले आउनेहरू त यो ठाउँमा मेरो खासै को नै थियो र। कैलेकैले बिचमा आउनेहरूको पनि पहिलो प्रश्न भनेकै काममा फर्किने कि नफर्किने? फर्किए पनि कहिले फर्किने? भन्ने हुन्थ्यो। उनीहरू बारम्बार अमेरिकनहरू सुत्केरी भएको २-३ दिनमा ह्यान त्यान गर्छन भनेर उदाहरणहरू दिईरहन्थे। म चुपचाप सुनिदिन्थें। जब उनीहरू जान्थे तब एकान्तमा मेरो मन ति कुराहरू सम्झी सम्झी सबैभन्दा तिखोसँग चिमोटिन्थ्यो। त्यो दुखाई अझै धेरै असह्य लाग्थ्यो।

ति दिनहरूमा नेपाल हुदाको एउटा घटना अलि बढ्तै सम्झिएँ । त्यो घटना थियो:- मेरी ठुली छोरी जन्मेर छ महिना पुगिसकेकी थिईन। म मन्टेस्वरीको तालिम लिन भनेर एउटा संस्थामा जाने गर्थें । त्यहाँ तालिम दिने एकजना म्याडमले सँधै भन्नुहुन्थ्यो ” म्याम हजुर त अझै सुत्केरी नै हुनुहुन्छ। केही धपेडी नगर्नुस”। त्यसपछी एकाएक मन निचोरिन्थ्यो।अमिलिन्थ्यो। कोपरिन्थ्यो ।अनि, फेरी आफैं जसोतसो सम्हाल्ने असफल प्रयास गर्थें ।

त्यसपछी लगभग ३६ दिन घर बसेर म फेरी काममा फर्किएँ। हामी बुढाबुढी पालैपालो नानीहरू हेर्ने,पढ्ने र काम गर्ने गर्थ्यौ/गर्छौँ । ति दिनहरूमा जब म साँझमा घर फर्कीसकेपछी सानीलाई देख्थे,अनि मात्रै ए म त सुत्केरी पो त नि है भनेजस्तै लाग्थ्यो।

बुढाबुढी नै काम गर्दै, पढाई गर्दै, दुई जना नानीको स्याहार गर्न पक्कै सजिलो थिएन। यस बिचका तमाम संघर्षहरू यी २-४ हरफमा अट्दैनन। यो संघर्षपूर्ण समयले सबैभन्दा ठुलो पाठ के सिकायो भने, मेरा कोही छन भन्ने भ्रमले भन्दा पनि म एक्लै छु र मेरो लागी सबैथोक गर्न म आफै सक्षम छु भन्ने आफैं प्रतिको विश्वासले मान्छेलाई भावनात्मक रूपमा अझ धेरै बलियो बनाउने रहेछ।

आज नेपाली नयाँ वर्ष। आज नै मेरी सानीको जन्मदिन पनि। ति अप्ठेरा बाटाहरू हिजो मात्र छिचोलेँ जस्तो लाग्छ। समय कति छिट्टै दौडेछ। उनको यो तेस्रो जन्मदिन।

कम्तिमा अब त उनी आफुलाई भोक लागेको, निन्द्रा लागेको कुरा भन्न सक्छिन।म कामदेखी घर पुग्नासाथ दिनभरिका घटना एक एक गरेर सुनाउन सक्छिन।

उनीजस्ता सबैहरू चौबिसै घण्टा ममीसंग बसेर हुर्किरहेको बेला, मेरी सानीले ममी कुनबेला घर आउछे भनेर कुर्न पर्यो। हमेशा मेरो मन अमिल्याउन यति नै एउटा कुरो पर्याप्त छ। यसैले पनि सकभर आफ्नो छुट्टीको दिनको एक एक पल उनको लागि मात्र खर्च गर्न मन पर्छ। त्यसमा जत्तिको आत्मसन्तुष्टी मिल्ने कुराहरू संसारमा सायदै होलान।

कैले कैले जब म सन्चो हुन्न। उनले पहिल्यै थाहा पाउँछीन। मेरो छेउमा आउँछिन। मैले नमागेरै पनि मलाई पानी दिन्छिन। उनका साना हातहरूले मेरो निधार छाम्छिन। अनि फेरी मेरो निधारमा माया गर्छिन र मुसुक्क हाँस्छिन। उनको त्यति मुस्कानले मेरा संघर्षहरू, पिरहरू, म भित्रका छट्पटीहरू अनि आफ्नै खुट्टाले हिंडेर पार गरेका कहालिलाग्दा बाटाहरू पलभरमै बिर्साईदिन्छन। म झटपट उनलाई आफुतिर तान्छु। उनको गाला निधार सबैतिर चुम्बनै चुम्बनको वर्षा गराईदिन्छु र धेरैबेरसम्म उनलाई आफ्नो छातीमा टाँसीरहन्छु।

पछिल्लोपल्ट सोमबार, वैशाख ३, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया