एकाएक स्टार भएकी साम्राज्ञीको ‘तिमी सँग’ सफल होला? − Kalakarita
एकाएक स्टार भएकी साम्राज्ञीको ‘तिमी सँग’ सफल होला?

बुधबार, चैत्र २१, २०७४, ०२ : ५३कलाकारिता

काठमाडौं, २१ चैत – ‘ड्रिम्स’ बाट फिल्मी क्षेत्रमा उदाएकी साम्राज्ञीले धेरै फिल्म खेलेकी छैनिन् । जति फिल्ममा अभिनय गरेकी छिन्, ती फिल्मबाट उनी चर्चामा छिन् । रिलिज भएका फिल्मले राम्रो व्यापार पनि गरेका छन् ।

प्रायः फिल्म अभिनेताका कारण चलेको भन्ने गरिन्छ । जस्तो कि, फिल्म ‘ड्रिम्स’ पनि अभिनेता अनमोल केसीकै कारण चलेको हो भनेर भन्ने गरिन्छ । तर, उक्त फिल्ममा साम्राज्ञीलाई पनि दर्शकले उत्तिकै नोटिस गरेका थिए । त्यसपछि उनले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर २’ पनि राम्रै सफलता पायो । साम्राज्ञीको अभिनय र रुप दुवैको तारिफ भयो ।

अर्को संयोग के पनि प–यो भने उनले अभिनय गरेको फिल्म ‘मंगलम’ पनि चल्यो । उक्त फिल्ममा उनको भूमिका खासै थिएन । पुष्प खड्का र शिल्पा पोखरेललाई केन्द्रमा राखिएको थियो ।

अब साम्राज्ञी अभिनित फिल्म ‘तिमी सँग’ रिलिजको संघारमा छ । चलचित्रमा आकाश श्रेष्ठ र नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् । नाजिर र साम्राज्ञी प्रचारमा पनि खुलेरै लागेका छन् । यतिबेला बजारको हिसाबले साम्राज्ञीको क्रेज राम्रै देखिन्छ ।

एक यात्राको प्रेमकथालाई लिएर निर्माण गरिएको फिल्म कस्तो चल्ला त्यो त अबका केही दिनमा नै थाहा हुनेछ । तर रिलिज अघिको माहोललाई हेर्ने हो भने साम्राज्ञीले यतिबेला राम्रै हाइप निर्माण गरेकी छिन् । शिशिर राणाले निर्देशन गरेको फिल्म यही शुक्रवारबाट रिलिज हुँदैछ ।

पछिल्लोपल्ट शुक्रबार, चैत्र २३, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया