Break up

जब चरा अम्बा खान आयो, ‘प्रसाद’ जन्मियो

सोमबार, मंसिर २४, २०७५, ०१ : ५३अर्घेलो थापा

काठमाडौं, २४ मंसिर – एक दिन सुशीलले आफ्ना स्कूले साथीहरुसँग बसेर अम्बा खाँदै थिए । त्यही बेला एउटा चरा आयो । लटरम्म फलेको अम्बाको रुखमा बस्यो । खान खोज्यो । साथीले ढुंगा टिपेर चरा उडायो । चरा भुर्र उड्यो र गयो ।

फेरि सबैले अम्बा खान थाले । सुशीलको दिमागमा भने एउटा प्रश्न बिझ्न थाल्यो – ‘यो अम्बामा त्यो चराको हक छ कि छैन?’

किनकि, साथीले त्यो चरालाई आफ्नो अम्बा भन्दै धपाएको थियो ।

यतिबेला हलमा रिलिज भइरहेको चलचित्र ‘प्रसाद’ को कथा पनि त्यही घटनाले जन्माएको हो । त्यही घटनालाई रंगरोगन गरेर सुशील पौडेलले फिल्म लेखे । निर्देशन दिनेश राउतले निर्देशन गरे । र, विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतले अभिनय गरे । यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको ‘प्रसाद’ लाई दर्शकले रुचाएका छन् ।

यी प्रतिक्रियाहरुले सुशील केही पुलकित छन् । केही जिम्मेवार थपिएको महसूस पनि गरिरहेका छन् ।

त्यो समय ।

समाजमा रुढीवादी सोच हावी थियो । अहिले त जातीय विभेदले जरा गाडिरहेको समाजमा बीस वर्षअघि कस्तो थियो, त्यसको अनुमान लगाउन खासै गाह्रो छैन । त्यतिबेलाको समाज र त्यही समाजको चित्रलाई फिल्ममा ढाल्ने गरी पौडेलले कथा लेखेका थिए । यही कथा र कथाले उठाएको विषय यतिबेला चर्चामा छ ।

यही एउटा फिल्म लेखनपछि सुशीलको चिनारी अझ फराकिलो बनेको छ ।

सयौँ फिल्म लेखेर पनि म फलानो फिल्मको लेखक हुँ भनेर कतिपय लेखकले चिनाइरहनु पर्ने अवस्थामा सुशीलले भने पहिलो फिल्मले नै पर्याप्त चर्चा कमाएका छन् । फिल्मको कथामा नयाँपन भेटिएकाले पनि दर्शकले फिल्मको टेस्टलाई रुचाएका छन् ।

अहिले पनि उत्तिकै ताजा लाग्ने यो कथा लेखनको हिसाबले केही नयाँ भएपनि विषयका हिसाबले समाजमा यत्रतत्र पाइने कथा हो । जुन कथालाई सुशीलले नलेखिएको कथा भनेर सुशील सुनाउँछन् ।

पौडेल त्यतिबेला नेपाली समाजमा यो खालको कथा लेख्ने अवस्था नभएको स्मरण गर्छन् । त्योताका यस्ता कथाहरु खासै लेखिएका हुँदैनथे । त्यतिबेला फिल्मका कथा पनि बेग्लै स्वाद र प्रयोगका हुन्थे । नेपाली सिनेमाले मौलिक कथाको खासै खोजी गर्दैनथ्यो ।

अहिले भने नेपाली फिल्ममा मौलिक कथाको खोजी हुने क्रम बाक्लो छ । दर्शकको रोजाइमा पनि यिनै कथाहरु चलिरहेका छन् ।

‘त्यो फलमा चराको अधिकार हुन्छ कि हुँदैन?, मैले त्यतिबेला यही सोचेको थिएँ, प्रसादको कथा पनि यस्तै हो ।’, सुशीलले कलाकारितासँग भने ।

त्यतिबेलाको त्यो घटनालाई बिस्तारै समाजसँग जोड्दै कथानक उनेको बताउँछन् सुशील । त्यो खेस्रामा समाज जोड्दै जाँदा कथामा जातीय मुद्दा पनि उठे । समाजका विविध पात्रका सोचलाई सुशीलले मनोवैज्ञानिक हिसाबले भन्ने कोशिश गरे ।

कथामा त्यस्तो शक्ति के थियो त? जसका कारण यति लामो समयसम्म पनि दिमागमा बसिरह्यो त? सुशील भन्छन्, ‘किनकि, कथामा हाम्रै समाज छ । समाजका समस्या छन् ।’

‘प्रसाद’ हाम्रै समाजकै कथा हो, देखे/सुनेकै कथा हो ।’

समाजको कथा टपक्कै टिपेर ल्याएको भनेर तारिफ भएकाले पनि हुनुपर्छ, सुशीललाई एउटै फिल्मको कथाले पत्रकार र समीक्षकसँगै एकाएक लेखक बनाइदिएको छ । उनका लागि यो बिल्कुलै नयाँ प्रयोग र अनुभव थियो ।

हाम्रो सिनेमा क्षेत्र अझैपनि तिनै कथाको सामान्य खोजीमा अल्झिरहेको छ, मैले तिनै समाजमा देखेका कथालाई फिल्ममा उतार्न खोेजेँ, शायद यही ‘टेस्ट’ ले हुनुपर्छ, फिल्मले लेखकलाई समेत चिनाउन भूमिका खेल्यो ।’, पौडेलले सुनाए ।

तर उनी लेखक चिनिएको भन्दा पनि विषयको चर्चा भएको बताउँछन् । ‘म चिनिएको भन्दा पनि यसको विषय चिनिएको हो भन्ने लाग्छ । यो हाम्रै घरछिमेकमा देखेको कथा हो । तर नलेखिएको कथा हो ।’, उनले थपे ।

हुन पनि हो, नेपालको परिवेशमा यहाँ दर्जनौँ फिल्म लेखिसकेका लेखकलाई पनि आफूले फिल्म लेखेको भन्दै चिनाउनुपर्ने अवस्था छ । तर सुशीलको भागमा भने पहिलो फिल्मले नै गुमनाम हुनबाट जोगाएको छ । फिल्मको ‘कन्टेन्ट’ सँगै सुशील पनि गुञ्जिरहेका छन् ।

‘फिल्म लेख्यौँ होला तर हामीले शायद हाम्रा कथालाई विषय बनाएनौँ होला,’ उनले थपे, ‘अहिले त बरु आफ्ना कथाहरु लेखिन थालेका छन्, कुनै बेला दुई÷चार विदेशी कथालाई मिलाएर फिल्म बनाउने चलन थियो, भन्ने नै हो भने त ती फिल्मका लेखक नेपाली होइन, विदेशी लेखक हुन् ।’

एउटा ‘चरा’ ले फुराइदिएको कथामा सुशीलले फिल्म नै लेख्ने सोच बनाएका चाहिँ थिएनन् । उनी चाहन्थे कि, यही विषयमा कुनै त्यस्तो कथा लेखियोस्, कहानी लेखियोस् । बीस वर्षसम्म मथिंगलमा राखेको यो कथालाई उनले पुस्तकको रुप दिने योजना बनाइरहेका थिए ।

‘यो कथाले मलाई घच्घचाइरहन्थ्यो, अरुका कथा पढ्दा पनि मेरो कथा आइहाल्छ कि भन्ने लाग्थ्यो, फिल्म हेर्दा पनि त्यस्तै हुन्थ्यो ।’, सुशीलले हाँस्दै सुनाए ।

यो कथा उनलाई निकै मन परेको रहेछ । अरुले सोच्न पनि नसोचिदिए हुन्थ्यो भन्ने पहिलेदेखि नै रहेछ ।

सुशील मुस्कुराउँदै सुनाउँछन्, ‘अलिक अल्छी भएँ, नत्र पहिले नै यो कथामा उपन्यास लेख्ने सोचेको थिएँ, फिल्ममा ढाल्दा क्लाइमेक्स नै हेरफेर गरियो नि ।’

फिल्म ‘प्रसाद’ ले अन्तर्जातीय विवाहको मुद्दालाई पनि उठान गरेको छ । त्यो बेलाको समयमा जस्तै अहिलेको समयमा पनि जातीय विभेद जारी छ । फिल्मले यो विषयलाई पनि जोडेको छ । तर, अझै जति हुनुपर्ने त्यति नभएको हो कि भन्ने सुशीललाई लाग्छ ।

‘हाम्रो समाज परिवर्तन हुन अझै समय लाग्छ, मेरो विचारमा समाज परिवर्तनमा यस्ता फिल्मले पनि भूमिका निभाउन सक्छन् ।’, उनले भने ।

फिल्ममा उनले निःसन्तान दम्पतीको कथालाई मात्र उनेका छैनन्, पुरुष र महिलाको मनोविज्ञान र सामाजिक सोचलाई पनि द्वन्द्वको विषय

बनाएका छन् । उनका अनुसार दर्शकले समाजको सोच र पात्रको सोचको द्वन्द्वलाई केलाउने छन् ।

‘मैले यो फिल्ममा महिला र पुरुष दुवैले समाजप्रति राख्ने दृष्टिकोण र मनोविज्ञानलाई पनि केलाउन खोजेको छु’, सुशीलले अगाडि भने, ‘कथाअनुसार एक पात्रको भूमिकालाई पनि देखाउन खोजेको छु, दर्शकले दुवै पात्रका कुरा सुनेपछि आफूले पनि सोच्न बाध्य हुनुहुनेछ ।’

उनले थोरै मुस्कुराउँदै थपे, ‘महिलालाई नारायणीका कुरा मन पर्न सक्छ, पुरुष दर्शकलाई बाबुरामका कुरा मन पर्न सक्छ, यही नै फिल्मको कथा हो ।’

फिल्मको ट्रेलर:

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।