कविताः स्वास्नी मान्छेको उडान − Kalakarita
कविताः स्वास्नी मान्छेको उडान

शनिबार, चैत्र १७, २०७४, ०५ : ५४कलाकारिता
आरके अदीप्त गिरी

उ सधैँ उठ्छे
पूर्वमा घाम उठे झैँ

र, फैलाउँछे आफ्ना दिनहरूलाई
दैलो कुचो, पानी- पधेरा, करेसाबारी हुँदै
… अरू- अरूतिर

ताकि बचाउन सकियोस्
चराहरूको चिरिबिरी
जुटाउन सकियोस् बेलुकीसम्मका लागि
आफ्नो आहारा

उ फैलिन्छे
जंगलको अध्यारोमा झैँ लगातार
स्थिर पारिदिन्छे
उड्नेहरूका पखेटा

यो कुनै आश्चर्य होइन

कठिन समयलाई पनि ऊ
अतिअति नै सहज बनाउँछे
आफ्ना दु:खहरूमा सुख छरिदिन्छे
प्रत्येक दिन शान्तिले भरिएको निद्रा सुत्छे

अब अन्दाज गर्नुहोस् उस्ले केके गर्ली !?

जब कि कोही मर्ने गर्छ
सुखहरूको भोकले गर्दा

एक स्वास्नी मान्छे
अध्यारो दुलोबाट बाहिर निस्किएर
उड्न थाल्छे
लगातार उडिरहन्छे ।


तपाईंको प्रतिक्रिया