टंक बुढाथोकीले कहिलेसम्म अशोक दर्जीलाई बोकेर हिँड्छन्? − Kalakarita
टंक बुढाथोकीले कहिलेसम्म अशोक दर्जीलाई बोकेर हिँड्छन्?

मंगलबार, साउन ८, २०७५, ०९ : ५५अर्घेलो थापा

काठमाडौं, ८ साउन –त्यति जरुरी त थिएन, तर दुई उदाहरण जोडौं ।

उदाहरण १

केही समयअघि केही पत्रकारले एक बालगायकलाई अन्तर्वार्ताको भरमा हिट बनाइदिए । एकाध फिल्ममा उनलाई गीत पनि गाउन लगाइयो । उनी एकाएक चर्चित भए । सबैका प्रिय बने । उनीप्रति सहानुभूतिको बतास चल्यो । उनलाई शीतल बनाइदियो । त्यतिखेर यस्तो अवस्था बनेको थियो, प्रेम परियार खत्रा गायक हुन्, उनको स्वरमा बबाल जादु छ ।

अहिले उनी गुमनाम छन् । शायद धेरैलाई बालगायक प्रेम परियारको नाम अझै याद हुनुपर्छ । कतिले त त्यो नाम भुलिसकेका छन् भन्नेमा कुनै शंका छैन ।

जबसम्म उनलाई प्रयोग गरेर कसैलाई फाइदा हुने अवस्था छैन, तबसम्म कसैले बोक्नेवाला छैन  उनलाई । हो, अहिले प्रेम परियार गुमनाम छन् ।

उदाहरण २

केही वर्षअघि तस्वीरका आधारमा एक युवती भाइरल भइन् । भाइरल पनि यति भइन् कि, उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निरन्तर छाइरहिन् । त्यो बेलामा यस्तो माहोल बन्यो, ‘तरकारीवाली’ले त फिल्म छोयो भने फिल्म नै हिट हुनेवाला छ । केही अन्तर्वार्तामा उनले फिल्म खेल्ने इच्छा जाहेर गरेकी थिइन् । उनको नाम कतै जोडिदियो भने समाचार हिट हुन्थ्यो । नाम जोडेर गीत गायो भने गीत नै सुपरहिट हुन्छ भन्ने परेको थियो त्यतिबेला ।

अहिले पनि उनको नाम जोडेर गाइएका केही गीत युट्युबतिर बरालिएका छन् ।

‘लम्फू’ फिल्ममा काम समेत पाएकी तरकारीवाली फिल्म रिलिज भइसक्दा लापत्ता भइसकेकी थिइन् । मिडिया अर्को कुनै कुरालाई भाइरल बनाउनतिर लागिसकेको थियो । कुसुम श्रेष्ठ उर्फ तरकारीवाली अहिले गुमनाम छिन् ।

यस्ता उदाहरण धेरै छन् । यो उदाहरण दिइरहनुपर्ने विषय नै होइन ।

अब कुरा आउँछ अर्का भाइरल ब्याइ अशोक दर्जीको ।

मत भाँडिन्छ, अशोक दर्जीलाई बोक्ने र ठोक्नेहरुमा अहिले दुई चिरा परेका छन् । केही बुझेका उनका फ्यानले अशोक दर्जीको चिन्ता गर्न थालेका छन् भने केही नबुझेका फ्यानले अशोकका बारेमा एक शब्द पनि नराम्रो बोल्न सकेका छैनन् । कोही बोल्यो कि खेदो खन्न थालिहाल्छन् । यसैको फाइदा टंक बुढाथोकी जस्ताले लिएका छन् ।

अशोक दर्जीलाई ‘हिरो’ बनाएको पदवी पाएका टंक बुढाथोकीका दाइको फोनवार्ता बाहिर आएपछि एक पत्रकार सम्मेलन गरेर उनका म्यानेजर भनिएका दाइ आफूलाई चोख्याउन खोज्दै थिए ।

उनैले अन्तर्वार्तामा अशोक दर्जी र टंक बुढाथोकीमाथि औंला उठाउनेको औंला काटिदिने धम्कीसमेत दिएका थिए केही दिनअघि ।

हुन त प्रधानमन्त्री आफैले भर्ना गरेका विद्यार्थी त पढ्न गएको र नगएको थाहा नपाउने राज्यले अशोक दर्जीको चिन्ता नलिनु स्वभाविक हो तर अब अशोक दर्जी सबैको चासोको विषय भइसकेकाले आम जनताले पनि उनको बारेमा चिन्ता व्यक्त गर्नु नौलो होइन ।

स्वभाविक रुपमा उठ्ने प्रश्न हो – ‘हिजो सडकमा गीत गाउँदै हिँड्दा कसैले देखेन, तर आज टंक बुढाथोकीले उनको घर बनाइदिँदा सबैले खुट्टा तान्ने?’

यहाँ कुरा घरको होइन, कुरा के को हो भने अशोक दर्जीको भविष्यको । यदि अशोक दर्जीको भविष्य बन्यो भने उनले घर हैन, पूरै महल बनाउन सक्छन् । तर अहिले त्यो अबुझ उमेरमा उनलाई घरको पछि लगाइयो भने भविष्य के हुन्छ?

उदाहरण हाम्रै समाजमा प्रसस्त छन् ।

एउटा अर्को उदाहरणः वि.सं. २०६५ सालमा एउटा घटना घटेको थियो पोखरामा ।

शायद अहिलेको समय हुन्थ्यो भने केही मिडियाकर्मी, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ता उनलाई हिरो हैन, ‘भगवान्’ बनाउनतिर लाग्ने थिए ।

सेतीको खोंचमा खसेकी दुई वर्षीया बालिकालाई खोंचमा ज्यान जोखिममा मोलेर जीवितै उद्धार गरेपछि बाह्र वर्षीय कमल नेपाली एकाएक भाइरल भए । उनलाई हिरो बनाइयो । तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले नै उनलाई साहसिक बालकको पुरस्कार दिए ।

उनलाई कैयन् स्कूलबाट निःशुल्क पढ्ने अवसर आए । कैयन् पुरस्कार पाए ती बालकले ।

शायद अहिलेको समय हुन्थ्यो भने केही मिडियाकर्मी, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ता उनलाई हिरो हैन, ‘भगवान्’ बनाउनतिर लाग्ने थिए ।

पोखराको पालिखेचोकमा जुत्ता सिलाएर छोरो पढाउँदै आएका कमलका बुबालाई छोराको शिक्षा नै ‘महान्’ लाग्यो । यता अशोक दर्जीका बुबालाई टंक बुढाथोकी महान् लागेको  छ ।

अहिले कमल भाइरल छैनन् । उनले काठमाडौंको जेभियर स्कूलमा एसएलसीसम्म पढ्ने अवसर पाए । र, पढे ।

त्यो परिवारको रोजाइ थियो ।

गतवर्ष ‘कमल नेपाली अध्ययन प्रतिष्ठान’ ले उनको पुस्तक ‘साहसी बालक कमल नेपाली’ प्रकाशित गरिदियो ।

अब फड्को मारौं अशोक दर्जीमा ।

सारा संसारलाई थाहा छ कि, यतिबेला टंक बुढाथोकीले अशोक दर्जीलाई च्याँपेर राखेका छन् । यसको अर्थ उनलाई सबैले अन्तर्वार्ता लिनुपर्छ, गीत गाउन लगाउनुपर्छ भन्ने होइन ।

भन्न खोजिएको हो – अहिले अशोक दर्जीको पढ्ने उमेर हो, कुनै लफडा नगरी उनलाई पढ्ने व्यवस्था मिलाऔं । बरु उनलाई पक्कीवाला घरको साटो कामचलाउ घर बनाइदिऔं । अशोकलाई बंगलाले ठूलो मान्छे बनाउने हैन, वृत्ति बढाइदिने होइन । उनको पढाइ नबिगारौं ।

उनको कोरा दिमागलाई ‘पैसा’ कै लागि युरोप अमेरिका घुमाएर हुन्छ? टंक बुढाथोकीले त अशोकलाई परीक्षा दिनबाट पनि वञ्चित गरिसकेका छन् । हिजो सडकमा हुँदा चुप लागेका अधिकारकर्मीले पनि यस विषयमा कमसेकम अब सोच्नुपर्ने हो ।

अहिले अशोक दर्जी दुहुनो गाई त बन्लान् । तर भोलि जब अशोक विक्री हुन छोड्छन्, त्यसपछि टंक बुढाथोकीले अशोक दर्जीलाई साइड लगाउनेवाला छन् । यो पक्का हो ।

टंक बुढाथोकीले मसँगकै कुराकानीमा भनेका थिए, ‘जातको आधारमा पनि अशोक दर्जी तल्लो जातका हुन् तर मैले उनको परिवारलाई काठमाडौं आउँदा मेरो घरमा राखेको छु ।’

उनको यो भनाइमा पूरै स्वार्थ देखिन्छ । उनका अनुसार, हुन त अशोक भाइ दर्जी हुन्, तर भाइरल छन् । त्यसैले टंक बुढाथोकीले आफ्नो घरमा राखेका छन् ।

अहिले अशोकले पाएको माया उनको रुप, जात, उमेरले पाएको माया हैन । न त स्वरले पाएको माया नै हो । क्रेजले पाएको माया हो । भाइरल हुनुको परिणाम हो ।

अशोक दर्जीका बुबाको गरिबीमाथि डलरको खेती गर्न छोडौं भनेर आवाज उठ्नु स्वभाविक हो । अहिले टंक बुढाथोकी आफैले पनि अशोकको भविष्य हेरेर उनको पढाइ नबिगार्नुपर्ने हो । तर अहिले त उनका दाइ समेत खनिन थालेका छन् । उल्टो अशोक दर्जीका शिक्षकलाई समेत नानाभाँती भन्न थालेका छन् ।

यो सरासर गलत हो ।

प्रिन्सिपलले अशोक दर्जीको भविष्यको चिन्ता गर्नु स्वभाविक हो । प्रिन्सिपलले बारम्बार भनेका छन् – ‘भोलि अशोकलाई समस्या पर्छ, अहिले उसको पढाइ नबिगारौं ।’

यति चेत टंक बुढाथोकीको दिमागमा किन आएन? खुरुक्क उसलाई स्कूलमा गएर पढ्ने व्यवस्था मिलाएर विदाको बेलामा ल्याएर गीत रेकर्ड गराउनु र भाइरल बनाउने उपाय पनि छ नि ।

भोलि अशोक दर्जी भाइरल हुन छोड्दा टंकले विदाइ गर्नु स्वभाविक नै हो तर त्यतिबेला ढिलो भइसकेको हुनेछ ।

अशोकको काँचो दिमागलाई सुन्दर डिजाइन दिने जिम्मा स्वयम् टंक बुढाथोकीको पनि हो ।

भोलि अशोक दर्जीको भविष्य अन्धकार बनाउने कि, सफल बनाइदिने भन्ने भ्रम सबैको चासोको विषय हुनु नौलो भएन । अबको दश वर्षपछि अशोक दर्जीसँग के हुनेछ भन्ने कुरा टंक बुढाथोकीको चासोको विषय हुनुपर्छ ।

किनकि, यो निकै डरलाग्दो जोखिम हो तत्कालका लागि ।

मनोविदहरु विभिन्न अन्तर्वार्तामा भनिरहेका छन् – भोलि अशोक दर्जी डिप्रेशनमा पर्न सक्छन् । उनलाई अहिलेका भिडियो हेर्दा भोलि ग्लानि हुनसक्छ । किनकि, उनलाई आजका बारेमा केही थाहा छैन । एकातिर उनको पढाइ पनि बिग्रिएको छ । नाम लेख्नसमेत नजानेका अशोक दर्जी भोलि औपचारिक पढाइ पूरा गरे भने आफ्नो भविष्य सुनिश्चित गर्न सक्छन् । तर यसरी नै उनलाई बरालिँदै हिँडाइयो भने?

यति हुँदाहुँदै पनि टंक बुढाथोकी धन्यवादका पात्र पक्कै हुन् । किनकि, उनले भाइरल भइरहेका अशोकलाई विश्वास गरे । आफ्नै स्टुडियोमा आफ्नै गीत रेकर्ड गराए । उनीप्रति चिन्ता पनि लिए । लगानी गरे । समय दिए । कमाएको पैसा अशोकलाई नै हस्तान्तरण गर्ने निर्णय गरे ।

अहिलेको दुनियाँमा यति धेरै सहयोग कमै‌ले मात्र गर्छन् । टंक बुढाथोकीले अशोक दर्जीलाई सहयोग गरेकै हुन् । आफूले पनि सहयोग पाएका हुन् । तर, अहिले उनले अशोकलाई मात्र बोकेर हिँड्न थालेपछि भने अशोभनीय मात्र भएन, अशोकको भविष्यमा पनि चिन्ता उठ्न थाल्यो ।

जुन सबैका लागि स्वभाविक हो । टंक बुढाथोकीले कुनै पनि हालतमा अशोकको पढाइमा हानी गर्नुहुँदैन ।

किनकि, भोलि ठूलो दुर्घटना हुनसक्ने सम्भावना छ । यो बेलामा अशोक दर्जीका लागि सहानुभूति हैन, उनलाई असल नेत्तृत्वको खाँचो छ भन्ने सबैले बुझ्न आवश्यक छ । हिजो सडकमा हिँड्ने अशोक दर्जीलाई आज टंक बुढाथोकीले ‘हिरो’ बनाइदिए भन्नु सरासर गलत हो । किनकि, हिरो त अशोक दर्जीले टंक बुढाथोकीलाई बनाइदिएका हुन् ।

खैर, हिरो जो बनेपनि अब भने अशोक दर्जीको पढाइ र जीवनको चिन्ता स्वयम् टंक बुढाथोकीले पनि लिनुपर्ने देखिन्छ । आखिर कहिलेसम्म टंक बुढाथोकीले अशोक दर्जीलाई बोकेर हिँडछन् त? जीवनभरी?

तस्वीरः सामाजिक सञ्जालबाट

पछिल्लोपल्ट सोमबार, भाद्र ११, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया