यशोदाको अन्त्येष्टिमा मदनकृष्ण भक्कानिए, हरिवंशले सम्हाले − Kalakarita
यशोदाको अन्त्येष्टिमा मदनकृष्ण भक्कानिए, हरिवंशले सम्हाले

मंगलबार, चैत्र २०, २०७४, ०८ : ५६कलाकारिता

काठमाडौं, २० चैत – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नीशोकमा परेका छन् । गए राति काठमाडौंको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा यशोदाको निधन भएको थियो ।

क्यान्सरका कारण लामो समयदेखि पीडामा परेकी यशोदालाई काठमाडौंको आर्यघाटमा अन्तेष्टि गरिने कार्यक्रम थियो ।

निर्धारित समयभन्दा धेरै पहिले नै आर्यघाटमा कलाकार तथा सर्वसाधारण जम्मा भइसकेका थिए ।

आर्यघाटमा यशोदाको पार्थिव शरीर ल्याउँदै मदनकृष्ण श्रेष्ठले आफूलाई थाम्न सकेनन् । पार्किन्सन्स बिमारका कारण बोल्न समेत गाह्रो हुने मदनकृष्ण श्रेष्ठले आफूलाई सम्हाल्न गाह्रो परेको थियो । उनीसँगै उनको पूरै परिवार शोकमा डुबेको थियो ।

कलाकार हरिवंश आचार्यले उनलाई थमाउन खोजिरहेका थिए । हरिवंशसँगै अन्य कलाकार तथा आफन्तले पनि मदनकृष्णलाई सम्हाले । छोरा यमन श्रेष्ठका आँखा पनि रसाइरहेका थिए । यमनले हिन्दू परम्पराअनुसार यशोदालाई दागबत्ती दिएका थिए ।

मदनकृष्णले धर्मपत्नी यशोदासँग भागी विवाह गरेका थिए । अन्तर्जातीय विवाह गरेका मदनकृष्ण श्रेष्ठका एक छोरा र एक छोरी छन् ।

वि.सं. २०३० मा अन्तर्जातीय विवाह गरेकी यशोदाको निधन ६७ वर्षको उमेरमा भएको हो ।


तपाईंको प्रतिक्रिया