युट्युबमा यी ३ नेपाली फिल्मको भीडन्त − Kalakarita
युट्युबमा यी ३ नेपाली फिल्मको भीडन्त

शुक्रबार, वैशाख ७, २०७५, ०८ : ५६कलाकारिता

काठमाडौं, ७ वैशाख – वर्षको शुरुवातसँगै नेपाली सिनेमा हलमा फिल्मले राम्रो व्यापार गरे । दर्शक हलसम्म ल्याउनका लागि प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ मुख्य रह्यो । त्यस्तै चैत ९ गते रिलिज भएको कमेडी चलचित्र ‘शत्रु गते’ ले पनि गज्जबै व्यापार ग–यो । अर्कातिर फिल्म ‘लिलिबिली’ सँगै रिलिजमा आएको चलचित्र ‘नेप्टे’ ले पनि राम्रै व्यापार गरेको भनियो नयाँ वर्षको दिन ।

नयाँ वर्षकै अवसर पारेर युट्युबमा पनि चार चलचित्र एकसाथ रिलिज भए । रिलिज भएका चलचित्रमा थिए – रानी, पुरानो डुंगा, कारखाना र पर्व ।

यी चार चलचित्र ‘रानी’ केही समयअघि युट्युब रिलिज भएको थियो । केही दिनमै उक्त चलचित्र युट्युबमा ट्रेन्डिङ नम्बर एकमा बस्न सफल भयो । लगत्तै केही दिनको फरक पारेर रिलिज भएका चलचित्र कारखाना, पर्व र पुरानो डुंगा भने अहिले पनि युट्युबको ट्रेन्डिङमा झुम्मेका छन् । तर यो समाचार तयार पार्दासम्म फिल्म रानी भने युट्युबको ट्रेन्डिङबाट हराइसकेको छ ।

वर्षा शिवाकोटी र सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र कारखानाले हलमा दर्शक तान्न सकेको थिएन तर हेरेका दर्शकले फिल्मको तारिफ गरेका थिए । यो फिल्ममा खास गरी सरोगेसीको कथालाई उठाइएको छ। सामाजिक कथा उठाइएको यो फिल्म माइती नेपालमा पनि प्रदर्शन गरिएको थियो, त्यहाँ पनि फिल्मले राम्रो प्रतिक्रिया बटुलेको थियो । भलै फिल्मले राम्रो व्यापार गर्न सकेको थिएन ।

यही फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मलाई अमरदीप सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् । त्यस्तै फिल्मलाई फिल्मलाई सुदीप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन् ।

दयाहाङ राईको चलचित्र ‘नेप्टे’ उही समयमा हलमा खासै चल्न सकेन तर उनी अभिनित चलचित्र पुरानो डुंगाले भने दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ युट्युबमा । यो फिल्मले समीक्षात्मक रुपमा खासै राम्रो प्रतिक्रिया जोड्न सकेको थिएन । फिल्ममा दयाहाङ राईसँगै मेनुका प्रधान, माओत्से गुरुङ लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

त्यस्तै अर्को चलचित्र ‘पर्व’ पनि युट्युबको ट्रेन्डिङमा आफूलाई राखिरहन सफल भएको छ । तर यो फिल्म कारखाना र पुरानो डुंगाभन्दा पछाडि देखिएको छ । नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको यो फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण भएको हो । उक्त फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । युट्युबमा यो फिल्मले सकारात्मक प्रतिक्रिया भने पाएको छ ।

जे होस्, नयाँ वर्षको शुरुवातमा माध्यम जुनसुकै होउन् तर फिल्मले नेपाली दर्शकलाई आकर्षणमा भने पारेको छ । दर्शकलाई नेपाली फिल्मतर्फ आर्कषण गर्दै लैजानुलाई पनि एक तहको सफलताका रुपमा हेरिएको छ ।

पछिल्लोपल्ट आइतबार, वैशाख ९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया