

काठमाडौं । रिलिजका दैलोमा आएर चलचित्र ‘रोजी’ टिमले नाम परिवर्तन गरेको छ । नाम र कथाका कारणले पहिलेदेखि नै विवादमा आएको यो फिल्मले ‘रोजी’ कै नामबाट प्रचारप्रसार समेत गरे पनि अहिले आएर नाम फेरेको हो ।
काठमाडौंकी रोजी महर्जनको हत्याकाण्डसँग कथा मिल्न सक्ने र सोही घटनामा रोजीलाई नकारात्मक देखाइने भन्दै रोजीका परिवारले शुरुदेखि नै नाम परिवर्तन गर्न आवाज उठाउँदै आएका थिए ।
यही लफडाले गर्दा बीचमा केही समय फिल्मको छायांकन समेत रोकिएको थियो ।
फिल्मको नाम फेरिएर ‘रोजी’ लाई ‘रोज’ बनाइएको छ ।
फिल्मको टिजर केही समयअघि सामाजिक सञ्जालमा भाइरल भए पनि निर्माण टिमले ‘लिक’ भएको बताएको थियो । अहिले उक्त टिजर युटुयुबमा भेटिन्छ । यस्तै फिल्मले केही समयअघि गीत पनि सार्वजनिक गरेको थियो । गीतबाट भने फिल्म युनिटले राम्रो प्रतिक्रिया बटुलेको छ ।
बिहीवार विकास बोर्डमा फिल्मका निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी, मृतक रोजीका परिवारबीच सम्झौताअनुुसार फिल्मको नाम फेरिएको हो भने अब फिल्मलाई सत्य घटनामा आधारित भनिने छैन ।
निर्देशक निरक पौडेलले भने कानूनी रुपमा आफू माथि भए पनि मृतकको संवेदनालाई मध्यनजर गरेर नाम परिवर्तन गरेको बताए ।
चलचित्र यही भदौ २२ गते रिलिज हुँदैछ भने फिल्ममा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको अभिनय छ ।
तपाईंको प्रतिक्रिया