प्रहरीले पक्राउ गरेको हल्लापछि आलोक श्रीले भने, ‘भ्रामक समाचारप्रति मेरो आपत्ति छ’ − Kalakarita
प्रहरीले पक्राउ गरेको हल्लापछि आलोक श्रीले भने, ‘भ्रामक समाचारप्रति मेरो आपत्ति छ’

सोमबार, असार २५, २०७५, ०९ : ५८कलाकारिता

काठमाडौं, २५ असार – चर्चित संगीतकार आलोक श्रीले आफूलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको भनी विभिन्न अनलाइन माध्यममा आएका झुठा समाचारको खण्डन गरेका छन् । केही समाचार अनलाइनमा पार्किङको विषयमा विवाद हुँदा उनलाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशित भएको थियो ।

लगत्तै कलाकारिता टिमले आलोक श्रीलाई फोन गर्दा त्यस्तो केही नभएको बताएका थिए ।

अहिले भने आफन्त तथा साथीभाइबाट धेरै फोन आएर हैरानी खेप्नुपरेको उनले बताए । ‘पक्राउ गरेर हिरासतमा लिएको भन्ने भ्रामक समाचारले हैरान बनायो, खासमा त्यस्तो केही भएको होइन’, उनले कलाकारितासँगको कुराकानीमा भने, ‘हाम्रो स्टुडियोको टोलमा पार्किङमा राखेका बाइक प्रहरीले उठाएर लगेपछि हामी आफै गएका हौं, केही समाचारमा हतकडी लगाएर हिरासतमा लिएको खालका समाचार आउँदा आफन्तको फोन आइरहेको छ ।’

साथै उनले भ्रामक समाचारको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

‘टोलकी एक बैनीको स्कुटर प्रहरीले लगेपछि हामी टोलबासी आफै गएका हौं, हामीलाई प्रहरीले पक्राउ गरेको होइन’, आलोक श्रीले भने, ‘पछि बैनीले फाइन तिरेपछि स्कुटर लिएर आइन्, मलाई पक्राउ गरेको भए हिरासतमा राख्थ्यो होला, हतकडी लगाउँथ्यो ।’

‘भ्रामक समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ, हामीलाई प्रहरीले पक्राउ गरेको छैन, म स्टुडियोमै छु ।’, उनले भने ।


तपाईंको प्रतिक्रिया