नेपाली चलचित्र राम्रा हुँदैनन्, फिल्म हेर्नु भनेको पैसा र समय बरबाद गर्नु हो भन्ने छाप परेको छ दर्शकमा । एउटा फिल्म निर्माण भइसक्न ठूलै ‘टिम वर्क’ लागिपरेको हुन्छ । लेखकले कथा तयार पार्छ, पटकथा र संवादले फिल्मको कथा चोटिलो बनाउँछ । बल्ल त्यसमा निर्देशक तथा कलाकारले आफ्नो चमत्कारिक खुबी प्रस्तुत गर्छन् । निर्माताले नाफा कमाउन लगानी गर्छन् ।
एउटा फिल्मका लागि वर्षौंसम्मको समय छुट्याउनुपर्ने हुन्छ । पूरै फिल्म तयार बनिसक्न फिल्मका ‘कास्ट एण्ड क्रु’ दिनरात नभनी मेहनत गर्छन् । तर दुःखको कुरा वर्षौं लगाएर निर्माण गरिएका सयौं फिल्ममा ५ प्रतिशत फिल्मले मात्र लगानी उठाउँछन् ।
लगानी उठाउन नसकेका फिल्मको धेरै मार तिनैलाई पर्छ, जसले फिल्म राम्रो होस् भनेर करोडौं लगानी गरेका हुन्छन् । केही निर्माता फेरि अर्को फिल्ममा लगानी गर्दै ‘ट्राइ अगेन’ गर्छन् । केही निर्माता सधैका लागि फिल्म क्षेत्रबाट अलबिदा हुन्छन् र अरु व्यवसायतिर हाम फाल्छन् ।
निर्माता कसका कारण मारमा परिरहेका छन् त? चलचित्र ‘लूट’, ‘लभ सासा’, ‘लूट २’ लगायत चलचित्र निर्माण गरेका माधव वाग्लेले राम्रो फिल्मभन्दा पनि धेरै फिल्म निर्माण भइरहँदा निर्मातालाई घाटा भएको बताउँछन् ।
नेपाली चलचित्रमा लगानी गर्दा शतप्रतिशत रिस्क हुने भएपनि वर्षमा सयभन्दा बढी फिल्म बनेका हुन्छन्, त्यसमा जम्मा ४–५ चलचित्रले मात्र लगानी उठाउने गरेको वाग्ले बताउँछन् । ‘निर्माताका लागि त समस्यै समस्या नै छ, फिल्म वितरणको कुनै सरकारी नियम छैन, बक्स अफिस लागू भएको छैन’, वाग्ले थप्छन्, ‘नेपाली सिनेमामा ‘मुर्गा’ बनाउने प्रवत्ति छ, निर्मातालाई मुर्गा बनाएर फिल्ममा लगानी गर्न लगाइन्छ, जस्ता पायो त्यस्तै फिल्म बन्छन्, र यसको असर राम्रा फिल्म मेकरलाई पनि पर्छ ।’
वाग्ले नेपालमा जम्मा ७/८ जना मेकर मात्र राम्रा मेकर भएको बताउँछन् । अहिले दर्शकले स्टार कास्टदेखि मेकर समेत छानेर फिल्म हेर्न थालेको उनको अनुभव छ । ‘नराम्रा फिल्म धेरै बन्दा नेपाली फिल्म यस्तै हुन् भन्ने परेको छ, नराम्रोको भीडमा राम्रा फिल्मले पनि लय गुमाएको छ ।’, वाग्ले थप्छन् ।
निर्माता संघका अध्यक्ष समेत रहेका आकाश अधिकारीले भने ‘व्यापार’ मा घाटा हुनु स्वभाविक भएको बताउँछन् । सबैको आ–आफ्नै व्यापार भएको र जे जस्तो गर्न मन छ, त्यहीअनुसार व्यापार गर्दा कहिलेकाहीं घाटा हुने कुरा सामान्य भएको आकाश बताउँछन् । ‘फिल्म पनि एक किसिमले व्यापार नै हो, अरु क्षेत्रमा पनि घाटा हुन्छ तर मिडियामा आउँदैन, फिल्म मिडियामा आउने मात्र हो’, अधिकारी थप्छन्, ‘बरु अहिले त नेपाली फिल्मको बजार ठूलो बन्दै गएको छ, हल नेपाली फिल्मले धानिन थालेका छन्, विदेशी फिल्म कम भित्रिन थालेका छन् ।’
अन्य देशमा हजारौं फिल्म बन्ने तर एकदमै कम चलचित्र मात्र हलमा लाग्ने बरु नेपालमा सबै फिल्मले कमसेकम हलमा रिलिज हुन पाएको अधिकारी बताउँछन् । ‘धेरै फिल्म निर्माण हुनु विश्वकै अभ्यास हो, कला समाजको ऐना हो, फिल्म बन्नुपर्छ, नेपाली मौलिक कथाको माग पनि बढिरहेको छ’, आकाश भन्छन्, ‘अब त झन् बक्स अफिस लागू हुँदैछ, फिल्मको विदेशमा समेत बजार खोजिँदैछ, निर्मातालाई अझै फाइदा पुग्छ ।’
धेरै फिल्म निर्माण हुनु विश्वकै अभ्यास हो, कला समाजको ऐना हो, फिल्म बन्नुपर्छ, नेपाली मौलिक कथाको माग पनि बढिरहेको छ
त्यस्तै ‘प्रेम गीत २’ निर्माण गरेका निर्माता सन्तोष सेनले बजार नबुझीकन धेरै निर्माताले लगानी गर्दा निर्माता डुबेको बताउँछन् । ‘नेपाली चलचित्रमा मुनाफा भन्ने कुरा त परको कुरा हो, आफ्नो फिल्मको लगानी पनि जम्मा दुई चार जना निर्माताले मात्र उठाउनुहुन्छ, हामीले बजार नबुझीकन फिल्म बनाउन सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘कति त नाम कमाउने उद्देश्यले मात्र पनि फिल्म निर्माण गर्नुहुन्छ, अर्कोतिर फिल्म पनि त्यस्तै बन्दा राम्रा फिल्मलाई समेत घाटा हुन्छ ।’
उसो त नेपाली चलचित्र क्षेत्रमा जमेका कलाकार पनि भटाभट निर्माता बन्ने होड चलेकै छ । चलचित्रले लगानी उठाउँदैनन् भन्ने विदितै छ तर नायक/नायिका एकपछि अर्को गर्दै फिल्ममा लगानी गरिरहेका छन् । पछिल्लो समय फिल्म निर्माणमा लागेकी ऋचा शर्मा भने लगानीको हिसाबले नेपाली चलचित्रलाई गाह्रो भएको बताउँछिन् । ‘नेपालमा पैसा लगानी गर्ने निर्माता त हुनुहुन्छ तर फिल्म बुझेका निर्माता कमै हुनुहुन्छ’, ऋचा भन्छिन्, ‘नाम कमाऊँ, फिल्म बनाऊँ भनेर आउने तर मार्केट बिगारेर हिँड्नेले नेपाली फिल्म क्षेत्र बिगारेका हुन् ।’
राम्रै फिल्म बनाउँछु भनेर यो क्षेत्रमा लगानी गरिने गरिए पनि पैसा फाल्दैमा फिल्म नबन्ने धारणा राख्छिन् ऋचा । ‘एउटा फिल्ममा दुई करोड लगानी गर्ने, त्यसपछि फर्केर यो क्षेत्रमा नआउने केही निर्माताले गर्दा अरु निर्मातालाई पनि घाटा भएको छ ।’
र, यो पनि पढ्नुहोस्ः
‘पञ्चायत’को अन्तर्कथाः श्रीकृष्ण बाँचेको भए ‘फिल्म’ पहिले नै बनिसक्थ्यो
पछिल्लोपल्ट आइतबार, चैत्र ४, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया