काठमाडौं, २८ चैत – वर्षको अन्तसम्ममा आउँदा यो वर्ष लगभग असी वटा चलचित्रले नेपाली सिनेमामा हल पाए । ती चलचित्रमध्ये जम्मा ६ वटा चलचित्रले नाफा कमाए भने अन्य चलचित्रले घाटाको व्यापार गरे ।
यस वर्ष व्यापारिक भनिएका चलचित्र दर्शकले रुचाए तर ती चलचित्र समीक्षात्मक दृष्टिले सबैभन्दा धेरै खेदिए । यस वर्ष व्यापारिक दृष्टिले सफल भएका फिल्ममध्ये चलचित्र ‘शत्रु गते’ र ‘दुई रुपैयाँ’ ले समीक्षात्मक रुपमा पनि केही तारिफ बटुल्न सफल भयो । तर, फिल्म ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत २’, ‘छक्का पञ्जा २’, ‘ए मेरो हजुर २’ ले राम्रो समीक्षा पाएनन् । तर फिल्मले व्यापारको हिसाबमा अरु फिल्मलाई उछिने ।
यी फिल्म हेर्न दर्शक हलसम्म ओइरिए ।
फिल्म सफल हुनुलाई कलाकारले बनाएको स्टारडमका रुपमा पनि हेरियो । तर, यही वर्ष अभिनेता पल शाहका तीन फिल्म रिलिज भए – म यस्तो गीत गाउँछु, जोनी जेन्टलमेन र शत्रु गते ।
यीमध्ये ‘म यस्तो गीत गाउँछु’ र ‘शत्रु गते’ ले राम्रो व्यापार गरे भने ‘जोनी जेन्टलमेन’ फ्लप भयो ।
त्यसो त समीक्षकले ‘राम्रा’ भनेर खुबै तारिफ गरेका फिल्मले हलसम्म दर्शक तान्न सकेनन् । ती फिल्म चुर्लुम्मै डुबे ।
यस वर्ष समीक्षात्मक रुपमा चर्चामा आएका फिल्म तान्द्रो, देश खोज्दै जाँदा, घामपानी, नाका, गाँजा बाजा लगायतका चलचित्रले दर्शकको साथ पाउन सकेनन् । तर, चलचित्र घामपानीले भने लगानी उठाएको भनिएको थियो । वर्षको शुरुवातमा यसको व्यापारलाई हिन्दी चलचित्र ‘बाहुबली २’ ले असर पारेको थियो ।
बरु यस वर्ष रिलिज भएका फिल्मलाई केलाउँदा हास्य जानराका चलचित्रले केही हदसम्म राम्रो व्यापार गरे । यस वर्ष रिलिज भएको युवा स्टार अनमोल केसी अभिनित एक्सन थ्रीलर फिल्म ‘कृ’ बरु असफल बन्यो ।
नेपाली सिनेमाको दर्शकले कस्ता खालका फिल्म मन पराइरहेका छन् भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नबने पनि तुलनात्मक रुपमा रोमान्टिक फिल्मप्रति दर्शकको आकर्षण बढेको देखिन्छ ।
र, यो पनि पढ्नुहोस्ः
यस वर्ष फिल्मको बजार कस्तो रह्यो? यी ६ फिल्मले नाफा कमाए
पछिल्लोपल्ट शनिबार, वैशाख १, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया